ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असोज
चलचित्र ‘बेहुली फ्रम मेघौली’ले कथा लेखन प्रतियोगिता घोषणा गरेको छ । यो चलचित्र १७ असोजमा रिलिज हुने हुने भएको छ । चलचित्रको निर्माण पक्षले बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको हो ।
असोज १२ गते शनिबार छाया सेन्टर काठमाडौंमा दशैँ मेला लाग्दै छ । ‘यो मेलानमा तपाईंहरुले चाहेको जति सपिङ गर्न सक्नुहुनेछ । साथै तपाईंहरुले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ,’ यो चलचित्रकी नायिका तथा निर्मात्री स्वस्तिमा खड्काले बताएकी छिन् ।
कथा ३०० शब्दको हुनुपर्ने आयोजक पक्षले जनाएको छ । लेखेको अनुभव÷कथालाई info@hattihatti.org.np / priyaofficial1234@gmail.com इमेल मार्फत पठाउनुपर्नेछ । बेहुली हुँदाको कथा/अनुभव १० असोजसम्म पठाईसक्नु पर्ने पनि आयोजक पक्षले जनाएको छ ।
‘तपाईंहरुले पठाउनुभएको कथा मध्येबाट उत्कृष्ट कथा लेख्ने लेखकलाई हाम्रो चलचित्र बेहुली फ्रम मेघौलीको ग्राण्ड प्रिमियरमा निमन्त्रणा गरिनेछ । साथै चलचित्रको २ वटा टिकट पनि प्रदान गरिनेछ,’ उनले भनेकी छन्, ‘यो सुनौलो अवसरको फाइदा उठाइहाल्नुहोस् ।’
सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।