ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ असोज
निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको बहुप्रतीक्षित चलचित्र ‘शुभ विवाह’को छायांकन तीन दिनका लागि स्थगित गरिएको छ। लगातार भइरहेको भारी वर्षा तथा प्रतिकूल मौसमका कारण चलचित्रको छायांकन असोज ९, १० र ११ गते स्थगित गरिएको निर्माण पक्षले जनाएको छ।
निर्माता सुप्रिया कटुवालले जारी गरेको विज्ञप्तिमा मौसमको प्रतिकूल अवस्था तथा सरकारले जारी गरेको उच्च सतर्कतासम्बन्धी सूचनालाई मध्यनजर गर्दै छायांकन रोक्ने निर्णय गरिएको उल्लेख छ। कलाकार तथा प्राविधिक टोलीको सुरक्षा र सहजतालाई प्राथमिकतामा राखेर छायांकन स्थगित गरिएको निर्माण पक्षले जनाएको छ। निर्माण पक्षले प्रतिकूल मौसमका कारण उत्पन्न परिस्थितिमा सबैलाई सतर्क र सुरक्षित रहन आग्रहसमेत गरेको छ।
४५ दिनको छायांकन तालिकासहित पोखराबाट छायांकन सुरु गरिएको चलचित्र अहिले अन्तिम चरणमा पुगेको निर्देशक सुदर्शन थापाले बताएका छन्। गीतका दृश्यबाहेक चलचित्रका अधिकांश दृश्यको छायांकन पूरा भइसकेको छ। बाँकी गीतको छायांकन पनि करिब १० दिनभित्र सक्ने तयारीमा निर्माण टोली रहेको जनाइएको छ।
‘प्रेम गीत’पछि निर्देशक थापा र अभिनेता प्रदीप खड्काबीच लामो समयपछि ‘शुभ विवाह’मार्फत पुनः सहकार्य भएको हो। रोमान्टिक कथावस्तुमा निर्माण भइरहेको चलचित्रमा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।
चलचित्रमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ।
प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रका कार्यकारी निर्माता साम भुजेल हुन्। प्रदीप श्रीवास्तवको कथा रहेको चलचित्रको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रङ संयोजन तथा विक्रम स्वारको नृत्य निर्देशन रहेको छ। सुशीला केसी र आकृति पन्तले पोसाक डिजाइन गरेका छन् भने साहिल खानले ट्रेलर सम्पादन गरेका छन्।
विराज ढुंगाना चलचित्रका कानुनी सल्लाहकार हुन्। बुढासुब्बा डिजिटल डिजिटल साझेदार रहेको चलचित्रको वितरण भीष्म फिल्म्स र श्रीराम बालाजीले गर्नेछन्। ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।






