१२ गाउँ २ को टिजरमा एक्सनको फूल प्याकेज


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ असोज

अभिनेता विराज भट्ट निर्देशन तथा शीर्ष भूमिकामा नयाँ नेपाली चलचित्र ‘१२ गाउँ २’ को टिजर सार्वजनिक गरिएको छ। चलचित्र असोज ३० गतेदेखि प्रदर्शनमा आउनेछ। यो २०८१ सालमा प्रदर्शन भएको चलचित्र ‘१२ गाउँ’ को सिक्वेल हो।

यो चलचित्रको झन्डै दुई मिनेट लामो टिजर हेर्दा यो पूर्ण एक्सन प्रधान चलचित्र देखिन्छ । यसमा एक्सनको प्याकेज रहेको टिजरले देखाएको छ । किनकी टिजरमा संवादभन्दा एक्सन दृश्यलाई प्राथमिकता दिइएको छ । एक्सनका सब कन्टेन्ट गोली, किक फाईट, हात हतियार सहितकोद्वन्द्वका दृश्यले टिजर भरिभराउ छ । त्यसैले यो चलचित्र एक्सनप्रधान बनेकोमा कुनै शंका छैन ।

विराजको भ्वाइस ओभरबाट सुरु हुने टिजरमा उनका छोरा एवम युवा अभिनेता समीर भट्टका एक्सन दृश्यलाई विशेष प्राथमिकता दिइएको छ । बिराज भट्ट एक्सनका अहिले पनि महारथी हुन भन्ने कुरा उनले यसमा पनि प्रमाणित गरेका छन् । छोरा समीर त एक्सनका शिखर नै हुन भन्ने कुरामा कुनै शँका छैन ।

टिजरको मुख्य आकर्षण भने विराज र समीरलाई एकसाथ प्रस्तुत गरिएको दृश्य हो। दुई शक्तिबीचको युद्धको फैसला उनीहरूमध्ये एकको अन्त्यबाट हुने संकेतसहितको संवादले चलचित्रमा बाबु–छोराबीच नै टकराव हुन सक्ने अनुमानलाई बल दिएको छ।

यसरी यो चलचित्रमा प्रस्तुत गरिएका एक्सन र द्वन्द्वले १२ गाउँ २ प्रति अहिलेबाटै दर्शकमा उत्सुकता बढाएको टिजरमा प्राप्त प्रतिक्रियाले जनाएको छ । समग्रमा एक्सन जनराको चलचित्र मन पराउने दर्शकलाई यो प्रतीक्षारत चलचित्र भएको टिजरले जनाएको छ ।

यो चलचित्रमा विराज र समीरसँगै अनुपविक्रम शाही, वर्षा इटानी, खुसी कार्की, प्रकाश शाह, सुनील पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी र अर्जुन आचार्यलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रकी निर्माता सरस्वती भट्ट हुन्।

‘१२ गाउँ २’ मा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा सन्तोष सरकारको लेखन रहेको छ। त्यस्तै स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरणको पाश्र्व संगीत तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ।