ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ असोज
‘बा : एक योद्धा’ हेरेपछि अभिनेता हरिवंश आचार्यले आफू भावुक बनेको प्रतिक्रिया दिएका छन्। मंगलबार साँझ काठमाडौँमा आयोजित प्रिमियरमा सहभागी उनले चलचित्रले बुवाआमाले सन्तानका लागि गर्ने त्याग र पछिल्लो समय सन्तान विदेशिँदा अभिभावकले भोग्नुपरेको एक्लोपनलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए।
“मलाई चलचित्र राम्रो लाग्यो । रुन मन लाग्यो । सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ,” आचार्यले भने।
हरिवंशले चलचित्रमा दिव्यदेवले निर्वाह गरेको बुवाको भूमिकाको प्रशंसा गर्दै पात्रले दिएको भावलाई कलाकारले प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए। चलचित्रको सुरुवाती करिब ४०–४५ मिनेटमा कथा विस्तारै अघि बढेजस्तो लागे पनि त्यसपछि चलचित्रले दर्शकलाई समात्दै लैजाने उनको प्रतिक्रिया थियो। उनले कलाकारको अभिनयसँगै क्यामेरा र प्राविधिक पक्ष पनि राम्रो रहेको बताए।
पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले चलचित्रको कथावस्तु, प्रस्तुति र सन्देश तीनवटै पक्ष प्रभावकारी रहेको बताए। उनले चलचित्रले अहिलेको समाजमा बढ्दै गएको स्वार्थ र त्यसको प्रभाव पारिवारिक सम्बन्धमा कसरी देखिन थालेको छ भन्ने विषयलाई प्रस्तुत गरेको बताए।
“हाम्रो आफ्नो जनजीवनमा जे अवस्था छ, कथावस्तुले त्यसलाई समेटेको छ । कथा उत्कृष्ट छ, प्रस्तुति पनि उत्कृष्ट छ र यसले दिन खोजेको सन्देश पनि उत्कृष्ट छ,” अर्यालले भने।
अभिनेत्री ऋचा शर्माले चलचित्रलाई ‘एकदमै मिठो’ प्रतिक्रिया दिइन्। उनले झरना थापा र सुहाना थापाको अभिनयको प्रशंसा गर्दै चलचित्रको मुख्य आकर्षणका रूपमा दिव्यदेवलाई उल्लेख गरिन्। उनका अनुसार दिव्यदेवले चलचित्रमा आफ्नो अभिनय क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पाएका छन्।
‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पा थिङ लामाले पनि चलचित्रले आफूलाई भावुक बनाएको बताइन्। विशेषगरी दिव्यदेवले निर्वाह गरेको बुवाको चरित्र र चलचित्रमा आउने ‘तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो’ संवादले आफूलाई छोएको उनले बताइन्। चलचित्रले सन्तानले बुवाआमाप्रति पूरा गर्नुपर्ने जिम्मेवारीबारे गम्भीर रूपमा सोच्न बाध्य बनाउने उनको प्रतिक्रिया थियो।
यसअघि नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रदर्शनबाट पनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ। चलचित्रले सन्तानको भविष्यका लागि जीवनभर संघर्ष गर्ने बुवाआमा र उनीहरू वृद्ध भएपछि सन्तानबाटै पाउने उपेक्षा, एक्लोपन तथा पारिवारिक दूरीलाई कथाको केन्द्रमा राखेको छ। यही कारण प्रिमियरमा सहभागी धेरैले चलचित्रलाई नेपाली समाजका धेरै परिवारको कथासँग जोडिन सक्ने बताएका थिए।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको अभिनय छ। ‘बा : एक योद्धा’ असोज ९ गते अर्थात् शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो। वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले चलचित्र वितरण गर्दैछ।






