ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ असोज
अन्तरजातीय प्रेम, सामाजिक विभेद र प्रेम प्राप्तिका लागि पात्रहरूले गर्नुपर्ने संघर्षलाई केन्द्रमा राखिएको फिल्म ‘जदौ’को एक्सटेन्डेड ट्रेलर सार्वजनिक भएसँगै यसको विषयवस्तुलाई लिएर दर्शकको चासो बढेको छ। यही शुक्रबार अर्थात् ९ असोजदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको करिब साढे दुई मिनेट लामो ट्रेलरले सामाजिक यथार्थसँग जोडिएको कथा प्रस्तुत गरेको छ।
अन्जन शर्मा र काजी लिम्बूको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पल ठकुरी, विनोद न्यौपाने, खड्गबहादुर पुनलगायत कलाकारको अभिनय छ। ट्रेलरमा समेटिएका संवाद र पात्रहरूको भावनात्मक द्वन्द्वले सामाजिक सञ्जालमा समेत चर्चा पाउन थालेको छ।

ड्रेस सिलाउन आएकी नीतिलाई मुकुनले आफ्नो परिचय दिँदै ‘म बमबहादुर, थर बर्देवा, गोत्र काश्यप… यहाँको नि ?’ भनेर सोध्दा नीतिले ‘लुगा सिलाउनलाई जात र थर पनि चाहिन्छ र ?’ भन्ने जवाफ दिन्छिन्। उक्त संवादले फिल्मले उठाएको जातीय विभेदको विषयलाई स्पष्ट संकेत गर्छ।
त्यस्तै, प्रभात पलले नीतिलाई ‘मबिना एक्लै बाँच्न सक्छौ ?’ भनेर सोधेको दृश्यदेखि परिवारका अगाडि नीतिले ‘बाँच्न सिक्नुपर्छ, जातको कारणले हाम्रो बिहे हुन सक्दैन रे…’ भन्दै पोखेको पीडासम्मले प्रेम र सामाजिक बन्धनबीचको द्वन्द्वलाई देखाएको छ। प्रभातको ‘हो हो हो, म दमई हो’ भन्ने आक्रोशपूर्ण संवादले जातीय विभेदबाट सिर्जित पीडा र विद्रोहको भाव प्रस्तुत गरेको छ।
लेखकसमेत रहेका निर्देशक काजी लिम्बूले नेपाली समाजमा आफूले देखेको र भोगेको जातीय विभेद तथा कुरीतिविरुद्ध फिल्ममार्फत आवाज उठाउने प्रयास गरिएको बताएका छन्। अर्का निर्देशक अन्जन शर्माले ‘जदौ’ मनोरञ्जनसँगै दर्शकले महसुस र मनन गर्नुपर्ने चलचित्र बनेको बताएका छन्।
फिल्मको शीर्ष गीत ‘जदौ हजुर’ र रोमान्टिक गीत ‘तिमीसँग नबोली’ले चर्चा पाइरहेका बेला ट्रेलरमा समेटिएको प्रिति कौरको शब्द रहेको ‘रागले पोल्यो जातको, चलेन पानी यी हातको…’ गीतले पनि दर्शकको ध्यान खिचेको छ। दर्शकले उक्त गीतको पूर्ण संस्करण सुन्न चाहेको प्रतिक्रिया दिएका छन्।
शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्ममा सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता छन्। राजाराम सुवेदी, दीपक पोखरेल, नारायण शास्त्री र सुमित्रा देवकोटा सहनिर्माता तथा बिमला भण्डारी कन्सेप्ट डिजाइनर हुन्। फिल्मलाई एनसिजीएनले वितरण गर्दैछ।






