ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ असोज
अभिनेता दीपकराज गिरीको नयाँ चलचित्र ‘छ माया छपक्कै २’ को पहिलो गीत सार्वजनिक गरिएको छ। चलचित्रको शीर्ष गीत ‘माया छपक्कै’ सार्वजनिक भएसँगै निर्माण पक्षले प्रचार अभियानलाई समेत तीव्र बनाएको छ।
गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द तथा संगीत अभि सुनारले तयार पारेका हुन् भने विशाल निरौलाले संगीत संयोजन गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ रञ्जन राईले गरेका छन्। गीतमा सनाई, बाँसुरी, रिदम तथा गिटारलगायतका वाद्यवादन प्रयोग गरिएको छ।
सार्वजनिक गीतमा चलचित्रका प्रमुख कलाकार दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराईलगायतलाई प्रस्तुत गरिएको छ। चलचित्रमा दीपकराज गिरीले ‘राजा’ नामको केन्द्रीय पात्रको भूमिका निर्वाह गरेका छन्। चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् भने कथा तथा पटकथा दीपकराज गिरीको रहेको छ।
‘छ माया छपक्कै २’ सन् २०१९ मा प्रदर्शन भएको ‘छ माया छपक्कै’को दोस्रो श्रृंखला हो। सामाजिक तथा राजनीतिक विषयवस्तुलाई हास्य–व्यङ्ग्यको शैलीमा प्रस्तुत गर्ने चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, दीपाश्री निरौला, सनिशा भट्टराई, कर्म शाक्य, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, शारदा गिरीलगायत कलाकारको अभिनय रहेको छ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता रोहित अधिकारी हुन्। चलचित्र दशैंको फूलपाती अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।






