सौरभ चौधरीको ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ असोज

निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ। मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो। ठूलो क्यानभासमा निर्माण गर्न लागिएको चलचित्रलाई एपिक एक्सन ड्रामाका रूपमा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।

चलचित्रको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ। यसको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ। नेपाली चलचित्रकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने लक्ष्यसहित निर्माण अघि बढाइएको निर्देशक चौधरीले बताएका छन्।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा छन्। विशेषगरी सौगात मल्लले चलचित्रमा चुनौतीपूर्ण भूमिका निर्वाह गर्नेछन्। उनले २५ वर्षको युवादेखि ८० वर्षको वृद्धसम्मको जीवनयात्रा एउटै पात्रमार्फत पर्दामा प्रस्तुत गर्ने निर्देशकले बताएका छन्।

निर्देशक चौधरीले पहिलोपटक दयाहाङ राईसँग सहकार्य गरेका हुन्। दयाहाङलाई दर्शकले यसपटक फरक चरित्रमा देख्न पाउने उनको भनाइ छ। ‘अगस्त्यः च्याप्टर १’मा सौगात मल्ल र विजय बरालसँग काम गरिसकेका चौधरीले उनीहरूसँग पुनः सहकार्य गरेका छन्।

सुशील श्रेष्ठसँग भने निर्देशक चौधरीको करिब ६ वर्षपछि पुनर्मिलन भएको हो। उनीहरूले यसअघि चौधरीको पहिलो निर्देशकीय चलचित्र ‘लभ डायरीज’मा सहकार्य गरेका थिए। अमरप्रताप श्रेष्ठले भने यही चलचित्रका लागि चौधरीको निगरानीमा करिब साढे दुई वर्षदेखि अभिनय प्रशिक्षण लिँदै आएका छन्।

‘द राइज अफ साम्राज्य’को कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्।

मानकृष्ण महर्जन डीओपी तथा श्री श्रेष्ठ एक्सन निर्देशक रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डीसीएन रहेका छन्।