‘आ बाट आमा २’को टिजर २१ घण्टामै १३ लाखभन्दा बढी भ्युज, दर्शकको उत्साहजनक प्रतिक्रिया


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ असोज

अभिनेता पल शाह र अभिनेत्री मलिका महत अभिनीत फिल्म ‘आ बाट आमा २’को टिजरले सार्वजनिक भएको छोटो समयमै दर्शकको ध्यान खिचेको छ। सोमबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको टिजरले २१ घण्टामै १३ लाखभन्दा बढी भ्युज पाएको निर्माण पक्षले जनाएको छ।

३ मिनेट ३८ सेकेन्ड लामो टिजरमा पारिवारिक संवेदना, आमा–छोराबीचको सम्बन्ध र दसैँको परिवेशलाई प्रस्तुत गरिएको छ। टिजरमा पल शाहले मलिका महतलाई बोकेर हिँडिरहेको दृश्यसँगै आमाको औषधि लिन अस्पताल पुगेका पात्रले ‘जिन्दगीभर मलिकालाई बोकेर हिँड्छु’ भन्ने संवाद दर्शाइएको छ। घरमा बिरामी रहेकी आमाको अवस्थालाई लिएर हुने छटपटीका दृश्यले पनि कथाको भावनात्मक पक्षलाई संकेत गर्छ।

टिजरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएको निर्माण पक्षको भनाइ छ। सार्वजनिक भएको अवधिमा पाँच हजार तीन सयभन्दा बढी प्रतिक्रिया प्राप्त भएको र अधिकांश प्रतिक्रिया सकारात्मक रहेको जनाइएको छ। दर्शकले पल शाहको लोकप्रियता तथा फिल्मको भावनात्मक कथावस्तुलाई लिएर उत्साह व्यक्त गरेका छन्।

‘दसैँको जमरा र आमाको पर्खाइको कथा’लाई मुख्य विषय बनाइएको फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्कालगायत कलाकारको अभिनय छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा रोशन भट्ट र पन्तको लेखन तथा भट्टको संवाद छ। करण सिंह कार्यकारी निर्माता रहेको फिल्मको छायांकन नवराज उप्रेतीले गरेका हुन्।  गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्। ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।