ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ असोज
नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गतेदेखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ। चलचित्रको ट्रेलर मंगलबार ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
डिजास्टर जनरामा निर्माण भएको चलचित्र भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ। सार्वजनिक ट्रेलरमा भुटानको एक जलविद्युत् आयोजनाको सुरुङभित्र भएको दुर्घटनापछि उत्पन्न संकट र त्यसबाट सिर्जना हुने परिस्थितिलाई प्रस्तुत गरिएको छ। चलचित्रका महत्वपूर्ण दृश्यहरू कथालाई प्रेरणा दिएको भुटानस्थित वास्तविक सुरुङमै छायांकन गरिएको बताइएको छ।
करिब एक सय दिन लगाएर छायांकन गरिएको चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। चलचित्रमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायतको अभिनय छ।

सङ्गे फिल्म्स र पिक एक्सभीको प्रस्तुति रहेको चलचित्रमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको डोमसिआइआइपी तथा रोलिङ इमेज पिक्चर्सको सहकार्य छ। यसमा चौधरी ग्रुपका निर्वाण चौधरी पनि निर्माता रहेका छन् । दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा अभिनेता प्रदीप खड्का क्रिएटिभ निर्माता हुन्। खड्काले आफू चलचित्रमा कलाकारका रूपमा नभई निर्माताका रूपमा मात्र जोडिएको स्पष्ट पारे।
कार्यक्रममा मुख्य कलाकार तथा निर्माता सङ्गे छेल्ट्रिमले चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रयास गरिएको बताए। उनले नेपालको पछिल्लो बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै चलचित्रको आम्दानीमध्ये २५ प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने घोषणा गरे। चलचित्रको दृश्य प्रभाव तथा भीएफएक्समा विशेष काम गरिएको निर्माण पक्षले जनाएको छ।






