‘कबड्डी ५’को टिजरमा विपीनको दमदार इन्ट्री देखि एआई कनेक्सनसम्म


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ। करिब साढे तीन मिनेट लामो टिजरमा पुराना पात्रसँगै नयाँ चरित्रको प्रवेशलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।

सार्वजनिक टिजरमा विजय बरालले निर्वाह गरेको बिके पात्रको एआईसँगको सम्बन्धलाई विशेष रूपमा देखाइएको छ। यस्तै, दयाहाङ राईको काजी र सिर्जना गुरुङले अभिनय गरेको मैयाको प्रवेशले कथाप्रति कौतुहलता बढाएको छ। त्यसपछि विपीन कार्कीको इन्ट्री र उनको संवाद शैलीले टिजरलाई थप रोचक बनाएको छ। अन्त्यमा रिश्मा गुरुङको प्रवेशसँगै टिजर टुंगिन्छ।

टिजर हेर्दा ‘कबड्डी ४ः द फाइनल म्याच’ जहाँ टुंगिएको थियो, कथाको नयाँ शृङ्खला त्यहीँबाट अघि बढेको संकेत देखिन्छ। विशेषगरी बिके, विपीन कार्कीको पात्र र नयाँ मैयाका रूपमा प्रस्तुत सिर्जना गुरुङको भूमिकाले दर्शकमा चासो बढाएको छ।

यसैबीच, अघिल्लो शृङ्खलामा मैयाको भूमिकामा देखिएकी मिरुना मगरलाई भने निर्माणपक्षले अहिलेसम्म प्रचार सामग्रीमा गोप्य राखेको छ। पोस्टरपछि टिजरमा समेत उनको भूमिकालाई नखुलाइएकाले चलचित्रप्रति थप कौतुहलता सिर्जना भएको छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङलगायत कलाकारको अभिनय छ। चलचित्र कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।

निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सागर राज हुन्। कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायाङ्कन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्क तथा विदेशमा सेभेन सिज इन्टरनेसनलले चलचित्र वितरण गर्नेछ।