‘चमेलीको पोइ’को दमदार ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चमेलीको पोइ’को पौने चार मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विविध पक्षलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ।

ट्रेलरमा हाँसो र भावनासँगै पारिवारिक सम्बन्धमा आउने जटिलतालाई समेत देखाइएको छ। चलचित्र असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

निर्देशक बोहराले ‘चमेलीको पोइ’ विशुद्ध मनोरञ्जनात्मक चलचित्र भएको बताउँदै दर्शकलाई साढे दुई घण्टा मनोरञ्जन दिनुका साथै भावनात्मक रूपमा समेत जोड्ने प्रयास गरिएको बताए।

करिब १८ वर्षपछि ठूलो पर्दामा फर्किएका हास्य अभिनेता नारायण त्रिपाठीले चलचित्रबाट आफू उत्साहित रहेको बताए। अमेरिकामा आयोजित विशेष प्रदर्शनबाट दर्शकको माया पाएकाले पुनरागमनलाई लिएर थप उत्साहित भएको उनको भनाइ छ।

मुकुन भुसालले चलचित्रले दर्शकलाई भरपूर हँसाउनुका साथै केही दृश्यमा गम्भीर बनाउने बताए। विल्सन विक्रम राईले चलचित्र मनोरञ्जनले भरिपूर्ण रहेको उल्लेख गरे।

सुरक्षा पन्तले निर्देशक बोहरासँग ‘भैरे’पछि पुनः सहकार्य गर्न पाएको र आफूले चाहेको कथा, परिवेश तथा चरित्रमा काम गर्न पाएको बताइन्। उमेश राई ‘फुलन्देकी आमा’ले पनि चलचित्रबाट आफू आशावादी रहेको बताए।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित चलचित्रमा सुरक्षा, मुकुन, नारायण, विल्सन, रविन्द्र झा, उमेश राईलगायत कलाकारको अभिनय छ। सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्ले देशव्यापी वितरण गर्दैछ।