‘हली’ असोज ४ गते बेलायतमा विशेष प्रदर्शन हुने


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ असोज

छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक पीडा र दुर्व्यवहारलाई कथाको मुख्य विषय बनाएको नेपाली चलचित्र ‘हली’ बेलायतमा प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शन भइसकेको चलचित्रलाई आगामी असोज ४ गते बेलायतको अल्डरशटस्थित प्रिन्सेस हलमा विशेष प्रदर्शनी गरिने भएको हो।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको बेलायत प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक सपन इन्टरटेनमेन्ट लिमिटेडले जनाएको छ। बेलायतमा रहेका नेपाली दर्शकलाई लक्षित गरी विशेष प्रदर्शन आयोजना गर्न लागिएको निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठले जानकारी दिएका छन्।

ओम प्रतीकको लेखन तथा निर्देशन रहेको ‘हली’ले सामाजिक तथा देशगत परिवर्तनका लागि एक जना सचेत व्यक्ति नै पर्याप्त हुनसक्ने सन्देश प्रस्तुत गरेको छ। चलचित्रको ट्रेलर, प्रमोशनल गीत तथा पोस्टरले नेपालमा प्रदर्शनका क्रममा दर्शकको ध्यान आकर्षित गरेको निर्माण पक्षको भनाइ छ।

चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ। निर्देशक ओम प्रतीकसमेत चलचित्रमा कलाकारका रूपमा प्रस्तुत भएका छन्।

चलचित्रको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालगायत चर्चित कलाकारको नृत्य रहेको छ। गीतमा जस्मिन श्रेष्ठको शब्द रहेको छ भने कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले गरेका छन्।

चलचित्रमा अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सह–निर्मात्री, लक्ष्मण कर्माचार्य लाइन प्रोड्युसर र जीवननाथ गौतम मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र कृष्ण भारद्वाजले संगीत दिएको चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गरिरहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेको छ।