ब्युटी न्युज नेपाल
काठमाडौँ, २ असोज
प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रले पारिवारिक सम्बन्ध, सम्पत्तिको अंशवण्डा, जेठानी–देउरानीबीचको सम्बन्ध र हराएकी आमाको खोजीलाई कथाको केन्द्रमा राखेको छ।
चलचित्रमा केकी अधिकारी र आँचल शर्मा जेठानी–देउरानीको भूमिकामा छन्। महेश त्रिपाठी र कुशल विष्ट दाजुभाइ तथा हिउँवाला गौतम आमाको भूमिकामा प्रस्तुत भएका छन्। आर्यन सिग्देल, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहेको छ।
फिल्मको कथा ज्ञानेन्द्र देउजासहित गोविन्द फुयाँल र शिशिर चालिसेले तयार गरेका हुन् भने पटकथा तथा संवाद परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेको रहेको छ। विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यू नेपाल प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सहनिर्माता छन्। चलचित्रमा पारिवारिक मेलमिलाप र सम्बन्धको भावनात्मक पक्षलाई मनोरञ्जनसँग जोडेर प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।






