ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ भदौ
अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाको चलचित्र ‘पार्वती’ले अमेरिकामा प्रदर्शनको सुरुवातमै उत्साहजनक प्रतिक्रिया पाएको छ। गत शुक्रबारदेखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भइरहेको चलचित्रले पहिलो तीन दिनमै दर्शकको राम्रो साथ पाउँदै केही शोमा ‘हाउसफुल’ व्यापार गरेको हो।
‘द माया डिजिटल युएसए’ले अमेरिकामा वितरण गरेको चलचित्र सेप्टेम्बर ११ देखि विभिन्न सहरका हलमा प्रदर्शन भइरहेको छ। चलचित्र सिनेमार्क टिनसल्टोन रोचेस्टरमा साँझ ६ बजे, मार्कस पिकरिङटन सिनेमामा साँझ ६ः२० बजे, एप्पल सिनेमाज ह्वाइट प्लेन्समा साँझ ६ः३० बजे तथा सिनेमार्क कुयाहोगा फल्स एन्ड एक्सडीमा दिउँसो १ः२५ बजे प्रदर्शन भइरहेको छ।
हलमा पुगेका नेपाली दर्शकले चलचित्रको कथावस्तु तथा कलाकारको अभिनयको प्रशंसा गरेका छन्। विशेषगरी मुख्य भूमिकामा रहेकी नीता ढुङ्गाना र बालकलाकार अशोक दर्जीको अभिनयलाई दर्शकले रुचाएका छन्।
विदेशमा रहेका नेपाली दर्शकबाट प्राप्त माया र सकारात्मक प्रतिक्रियाले नीता उत्साहित बनेकी छन्। ‘मनदेखि बनाएको र फरक विषयवस्तुमा आधारित चलचित्रलाई दर्शकले रुचाउनुभएको छ। आगामी दिनमा पनि यस्तै साथ पाउने आशा छ,’ उनले भनिन्।
हरिहर अधिकारी निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेको चलचित्रको कथा नीता ढुङ्गानाले लेखेकी हुन् भने पटकथा शिवम् अधिकारीको रहेको छ। चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, राज पंगेनी, दीप्त प्रकाश अधिकारी, सिरु बिष्ट, आशा पौडेल, सुवास गजुरेल, राधिका कँडेल र राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय छ।
सुदीप बरालको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन तथा साहिल खानको सम्पादन रहेको चलचित्रका ‘तुनाको रेल’ र ‘दिदी भाइ’ बोलका गीत प्रदर्शनअघि नै चर्चामा आएका थिए।
नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले वितरण गरेको चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।






