ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ भदौ
दशैँको पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘आ बाट आमा २’को पहिलो झलक सार्वजनिक गरिएको छ। निर्माण टिमले हरितालिका तीजको अवसर पारेर सोमबार चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरेको हो। चलचित्र आगामी असोज ३० गते फूलपातीको अघिल्लो दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ।
‘चर्किएको यो घरले फेरि सोध्यो… यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा’ भन्ने भावुक स्लोगनसहित सार्वजनिक पोस्टरले परदेशिएका सन्तान, आमाको प्रतीक्षा र चाडपर्वमा रित्तिँदै गएका नेपाली घरआँगनको कथा प्रस्तुत गर्ने संकेत गरेको छ।
फस्टलुकमा चाडपर्वका बेला परिवारमा देखिने विछोड, पुराना सम्झना र बदलिँदो सामाजिक परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। फुटेका सिसा र पुराना तस्बिरको प्रयोगले भत्किँदै गएको पारिवारिक सम्बन्ध र छिन्नभिन्न हुँदै गएका सम्झनालाई संकेत गर्छ। पोस्टरमा आमा–बुबाको भूमिकामा विपना थापा र प्रदीप रावतलाई भावुक अवस्थामा देखाइएको छ भने हवाइजहाजको दृश्यले रोजगारीका लागि विदेशिन बाध्य नेपाली युवाको कथालाई संकेत गरेको छ।
मुख्य कलाकार पल शाह र साइग्रेस पोखरेललाई दशैँको टीका र जमरासहित देखाइएको छ। उनीहरूलाई आमाले अँगालो हालेर रोइरहेको दृश्यले चलचित्रको भावनात्मक पक्षलाई थप बलियो बनाएको छ। त्यस्तै, लिङ्गे पिङ, गाउँघरको चाडपर्वको माहोल र परिवारसँग रमाएका दृश्यहरू पनि पोस्टरमा समेटिएका छन्।
चलचित्रमा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय रहेको छ। साहिल खान र मिलन श्रेष्ठले सम्पादन तथा करणसिंह रसाइलीले प्रोडक्सन व्यवस्थापन गरेका छन्।
अघिल्लो वर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘आ बाट आमा’को सिक्वेलका रूपमा निर्माण भएको यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। कथा तथा पटकथा पनि पन्तकै रहेको चलचित्र आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआरसँग रहेको छ।






