‘पार्वती’ हेरेपछि मदनकृष्णदेखि किरण केसीसम्मले गरे नीताको अभिनयको प्रशंसा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ भदौ

नीता ढुङ्गानाको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘पार्वती’ले प्रदर्शनको तेस्रो हप्ता पार गरिरहँदा दर्शकसँगै वरिष्ठ कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वबाट समेत प्रशंसा पाइरहेको छ। शनिबार चलचित्र हेर्न पुगेका वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य तथा हास्यकलाकार किरण केसीलगायतले चलचित्र र नीताको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

चलचित्र हेरेपछि मदनकृष्ण श्रेष्ठले अटिजम भएकी युवतीको भूमिका निर्वाह गरेकी नीतालाई पर्दामा देखिएको पात्र र वास्तविक जीवनमा झन्डै छुट्याउन नसकेको बताए। उनले नीताले सुरुदेखि अन्तिमसम्म पात्रलाई प्रभावकारी रूपमा समातेको भन्दै प्रशंसा गरे।

‘नीता ढुङ्गानाले यस्तो अभिनय गर्लिन् भनेर अन्दाज नै गरेको थिइनँ। सुरुदेखि अन्तिमसम्म अभिनयमा होल्ड गर्न सकेकी छन्,’ उनले भने। अटिजम भएका व्यक्तिको पनि भावना र मन हुन्छ भन्ने कुरा चलचित्रले दर्शकलाई सोच्न बाध्य बनाएको उनको भनाइ थियो। उनले चलचित्र हेर्नु एउटा पुस्तक पढेर प्राप्त हुने ज्ञानभन्दा पनि प्रभावकारी अनुभव हुनसक्ने बताए।

मदनकृष्णकी बुहारी रिङ्कुले पनि चलचित्रको विषयवस्तुले आफूलाई भावनात्मक रूपमा छोएको बताउँदै नीतालाई बधाई दिइन्। उनले फरक क्षमता भएका व्यक्तिको परिवारले भोग्ने समस्या र समाजको व्यवहारलाई चलचित्रले संवेदनशील रूपमा प्रस्तुत गरेको बताइन्।

संविधानविद् तथा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले नीताको अभिनयको प्रशंसा गर्दै यस्तो स्तरको अभिनय आफूले कमै देखेको बताए। उनका अनुसार संवेदनशील विषयलाई चलचित्रको कथाका रूपमा प्रस्तुत गर्नु निर्माण टोलीका लागि चुनौतीपूर्ण भए पनि ‘पार्वती’ले प्रभावकारी सन्देश दिएको छ।

हास्यकलाकार किरण केसीले चलचित्रको कथावस्तु र निर्देशन दुवै बलियो रहेको बताए। नीताले आफैँ निर्देशन गर्दै चुनौतीपूर्ण पात्रलाई जीवन्त बनाएको र दर्शकलाई भावनात्मक रूपमा बाँध्न सफल भएको उनको भनाइ थियो। उनले चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सक्ने सम्भावना रहेको समेत बताए।

भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्रमा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन्। अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्ध तथा अटिजम भएका व्यक्तिप्रति समाजको दृष्टिकोणलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ।

चलचित्रमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायतको अभिनय छ। नीताकै कथा तथा पटकथा रहेको चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्माता हरिहर अधिकारी रहेका छन्।