‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, पारिवारिक द्वन्द्वदेखि आमाको ममतासम्म


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ भदौ

असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा पारिवारिक सम्बन्ध, दाजुभाइबीचको द्वन्द्व, देउरानी–जेठानीको झगडा, आमाको ममता तथा सन्तानको प्रेमसँगै आमा खोज्ने विषयलाई प्रस्तुत गरिएको छ।

ट्रेलरमा पारिवारिक सम्बन्धभित्र उत्पन्न हुने मनमुटाव र त्यसले निम्त्याउने परिस्थितिलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। भावनात्मक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्रको ट्रेलरले दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता बढाउने अपेक्षा गरिएको छ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रमा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन्।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ। ईश्वर घिमिरे प्रोडक्सन हेड रहेका छन्।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रको लेखन गोविन्दु फुयाँल र शिशिर चालिसेले गरेका हुन्। चलचित्रमा समावेश ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज गीत यसअघि नै चर्चामा आइसकेको छ। गीतले युट्युब र टिकटकमा राम्रो चर्चा पाउँदै छोटो समयमै ३७ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको निर्माण पक्षले जनाएको छ।

यसैगरी, ‘झिंगे दाउ’को पहिलो भागले युट्युबमा ८० लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ। पहिलो भागको लोकप्रियताले पनि यसको दोस्रो श्रृंखलाप्रति दर्शकको चासो बढाएको निर्माण पक्षको विश्वास छ। सार्वजनिक ट्रेलर र गीतले ‘झिंगे दाउ २’लाई प्रदर्शनअघि नै चर्चामा ल्याएको छ।