दोस्रो हप्तामा ‘पार्वती’ : सार्वजनिक भयो ‘भगवान सबैको होइन र’


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ भदौ

हलमा प्रदर्शनरत नेपाली चलचित्र ‘पार्वती’ले दर्शकको साथ पाइरहेका बेला फिल्ममा समावेश नयाँ गीत ‘भगवान सबैको होइन र’ सार्वजनिक गरिएको छ। चलचित्र दोस्रो हप्तामा प्रवेश गरेसँगै निर्माण पक्षले प्रचारप्रसारलाई निरन्तरता दिँदै मार्मिक भाव बोकेको गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा चलचित्रकी मुख्य कलाकार तथा निर्देशक नीता ढुङ्गाना प्रस्तुत भएकी छन्। ‘भगवान सबैको होइन र’ र ‘म अरूजस्तै होइन’ जस्ता शब्द समेटिएको गीतले पात्रको पीडा र भावनात्मक अवस्थालाई प्रस्तुत गर्छ। चलचित्रको कथासँग समेत मेल खाने भएकाले गीतले दर्शकको मन छुने अपेक्षा निर्माण पक्षको छ।

गीतमा ममता गुरुङको स्वर रहेको छ भने प्रशान्त सिवाकोटीले संगीत दिएका छन्। गीतका शब्द युवराज काफ्लेले लेखेका हुन्।

नीता ढुङ्गानाको निर्देशनमा बनेको चलचित्रको कथा पनि ढुङ्गानाकै हो। शिवम् अधिकारीले यसको पटकथा लेखेका हुन्। चलचित्रमा ढुङ्गानासहित अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ।

फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता छन्।

यसअघि चलचित्रका ‘मेरी दिदी’ र ‘नौतुना रेल’ गीत सार्वजनिक भइसकेका छन्। ‘मेरी दिदी’मा अशोक दर्जी र बाबुल गिरीको स्वर छ भने ‘नौतुना रेल’मा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले स्वर दिएका छन्। दुवै गीतलाई दर्शक–स्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको निर्माण पक्षको दाबी छ।