‘अक्षरा’लाई युनिभर्सल सर्टिफिकेट, सबै उमेर समूहले हेर्न पाउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ भदौ

भदौ २६ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। प्रमाणपत्र प्राप्त भएसँगै चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।

२ घण्टा १४ मिनेट लामो चलचित्रले व्यावसायिक प्रदर्शनका लागि अनुमति पाएपछि निर्माण पक्ष उत्साहित बनेको छ। चलचित्रले अभिभावकको दबाबमा छोराछोरीको इच्छाविपरीत गरिने विवाह, त्यसबाट उत्पन्न पारिवारिक जटिलता र त्यसको सामाजिक प्रभावलाई कथाको मुख्य विषय बनाएको छ।

विनयराज पौडेलको निर्देशनमा तयार भएको ‘अक्षरा’मा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने ‘ल्याग्री दादा’ र सृष्टि खड्काले अभिनय गरेका छन्। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले चलचित्रमा लगानी गरेका छन्। सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेका छन्।

निर्माता उग्रसेन ढुङ्गानाको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा लेखेका हुन्। दिपेन बस्न्यातको छायाङ्कन र गौतम खड्काको सम्पादन रहेको चलचित्रको टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्।

चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन तथा शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीतमा तयार भएका गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न सकिन्छ।

नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले चलचित्र वितरण गर्दैछन्। चलचित्रको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको निर्माण पक्षले जनाएको छ।