ब्युटी न्युज नेपाल
काठमाडौं, २१ भदौ
डिजिटल माध्यमबाट देशभरका प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको युट्युब शो ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को अगस्त महिनाको विजेता आश्वीन पौडेल घोषित भएका छन् । गायन विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका पौडेलले दर्शकको समर्थनमा अगस्त महिनाको उत्कृष्ट प्रतिभाको उपाधि हात पारेका हुन् ।
आश्वीनको प्रस्तुतिले १ हजार ६९ लाइक, ४ हजार ७ सय ९० भ्युज र ६ हजार ९ सय २८ पोइन्ट प्राप्त गरेको आयोजक आईआईएमटी नेपालले जनाएको छ । अगस्त महिनाको उत्कृष्ट प्रतिभा बनेसँगै उनले नगद ५० हजार रुपैयाँ, प्रमाणपत्र तथा विशेष अन्तर्वार्ताको अवसर प्राप्त गर्नेछन् । यसअघि जुलाई महिनाको विजेता गिनिज अधिकारी घोषित भएका थिए ।
‘इट इज माइ ट्यालेन्ट नेपाल’मा गायन, अभिनय, नृत्य, वाककला लगायत आफूमा निहित जुनसुकै प्रतिभामा अनलाइन माध्यमबाट प्रतिस्पर्धा गर्न सकिने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुनका लागि प्रतियोगीले मोबाइल वा क्यामेरामार्फत घरबाटै आफ्नो प्रतिभा प्रस्तुत गरेको भिडियो तयार गरी पठाउन सक्नेछन् । यसका लागि प्रतियोगी भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन ।
प्रतिभा प्रदर्शनका लागि ठूला सहर धाउनुपर्ने, महँगो यात्रा तथा बसोबास खर्च बेहोर्नुपर्ने र लामो अडिसन प्रक्रियामा सहभागी हुनुपर्ने परम्परागत अभ्यासलाई डिजिटल माध्यममार्फत परिवर्तन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । देशका जुनसुकै स्थानबाट इच्छुक प्रतिभाले भिडियो पठाएर प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
प्राप्त प्रस्तुतिहरू आईआईएमटी नेपालले निर्धारण गरेको मापदण्डअनुसार समीक्षा गरी आधिकारिक डिजिटल मञ्चमा सार्वजनिक गरिनेछ । त्यसपछि दर्शकको छनोट तथा मतका आधारमा प्रत्येक महिनाको विजेता घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।
आईआईएमटी नेपालले कृत्रिम रूपमा बढाइएका मत तथा सहभागितालाई मान्यता नदिने स्पष्ट पार्दै प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाइएको जनाएको छ । प्रतियोगितालाई थप रोचक, प्रतिस्पर्धात्मक तथा सहभागितामूलक बनाउन अगस्त २०२६ देखि ‘आईआईएमटी गोल्डेन एरो अवार्ड’ र ‘आईआईएमटी बुल्सआई अवार्ड’ समेत सुरु गरिएको छ ।
प्रतियोगिताका प्रस्तुति हेर्न, आफूलाई मन परेको प्रतिभालाई समर्थन गर्न तथा उनीहरूको प्रस्तुतिलाई थप दर्शकमाझ पुर्याउन दर्शकले आईआईएमटी नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सहभागिता जनाउन सक्नेछन् । प्रतियोगीका प्रस्तुति तथा विजेता घोषणासहितका सामग्री उक्त च्यानलमा नियमित रूपमा प्रसारण हुँदै आएका छन् ।
प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन इच्छुकले आईआईएमटी नेपालको आधिकारिक वेबसाइट itismytalent.com मार्फत जानकारी लिन सक्नेछन् ।






