‘जदौ’को प्रेम गीत सार्वजनिक, ९ असोजमा प्रदर्शन


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ भदौ

अन्तरजातीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको नेपाली चलचित्र ‘जदौ’ प्रदर्शनको तयारीमा छ । चलचित्रमा नीति शाह र प्रभात पाल ठकुरीका साथमा मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रमा समावेश प्रेम गीत ‘तिमीसँग नबोली..’ सार्वजनिक गरिएको छ । आइतबार हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा नायिका नीति शाह र नायक प्रभात पाल ठकुरीलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।

किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको चलचित्र आगामी ९ असोजमा देशव्यापी प्रदर्शनमा आउनेछ । अन्तरजातीय प्रेम सम्बन्धलाई मुख्य विषय बनाइएको चलचित्रको स्क्रिप्ट निर्देशक लिम्बूले लेखेका हुन् ।

यसअघि चलचित्रको शीर्ष गीत ‘जदौ हजुर..’ सार्वजनिक गरिएको थियो । उक्त गीतले दर्शक–स्रोताको ध्यान खिचिरहेका बेला निर्माण पक्षले दोस्रो गीतका रूपमा ‘तिमीसँग नबोली..’ सार्वजनिक गरेको हो । सुन्दर लोकेसनमा छायांकन गरिएको गीतले पनि दर्शकको माया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।

श्याम तामाङका साथमा नवराज उप्रेतीको समेत छायांकन रहेको चलचित्रका सहनिर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल छन् । सृजना शर्मा र मनिष शर्मा निर्माता रहेको चलचित्रमा शान्ति पुडासैनी कार्यकारी निर्माता तथा बिमला भण्डारी प्रोडक्सन हेड छन् । ‘जदौ’लाई समीश्रण मुभीज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो । चलचित्रको देशव्यापी वितरण एनजिसिएन ग्रुपले गर्नेछ ।