माथिल्लो त्रिशुली–३ ‘ए’मा दुई जनाको जीवित उद्धार, एकको शवपछि अरु भेटिएन


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ भदौ

रसुवामा भदौ १० गते आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका जलविद्युत् आयोजनाका कामदारको खोजीका क्रममा माथिल्लो त्रिशुली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवित उद्धार गरिएको छ । सुरुङभित्र एक जनाको शवसमेत फेला परेको छ ।

बाढीका बेला उक्त आयोजनामा ४२ जना कार्यरत रहेको बताइएको छ । उद्धार गरिएका दुई जनामध्ये सञ्जय शाहको काठमाडौंस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । शाहका अनुसार आफू पावर हाउस क्षेत्रमा रहेकाले अन्यलाई बाहिर निकाल्ने क्रममा आफैं भने समयमै निस्कन सकेका थिएनन् ।

बाढीपछि आयोजनाका संरचना र सुरुङमा ठूलो मात्रामा हिलो, लेदो तथा ढुंगा पसेका कारण खोजीकार्य कठिन बनेको थियो । सुरक्षाकर्मीले सुरुङको विभिन्न भागमा पुगेर खोजी गरे पनि जीवित उद्धार गरिएका दुई जना र एक शवबाहेक थप व्यक्तिको अवस्थाबारे जानकारी पाउन सकेका छैनन् ।

सशस्त्र प्रहरीको कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर) टोलीका हवल्दार पवनबहादुर तामाङको नेतृत्वमा सात सदस्यीय टोली सुरुङभित्र प्रवेश गरेको थियो । नेपाली सेनाको टोलीले पनि सँगसँगै खोजी गरेको थियो ।

खोजीमा संलग्न सुरक्षाकर्मीका अनुसार सुरुङभित्रको प्लान्ट रहेको क्षेत्र अधिकांश हिलो र माटोले पुरिएको छ । केही स्थानमा ठूलो परिमाणमा ढुंगा थुप्रिएका छन् भने पानीको चापका कारण सुरुङमाथिका संरचनासमेत क्षतिग्रस्त भएका छन् । सुरक्षाकर्मीले करिब १५ देखि २० मिनेटसम्म घिस्रिँदै सुरुङको भित्री भागसम्म पुगेर खोजी गरेका थिए ।

सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले खोज तथा उद्धार टोली सुरुङको अन्तिम विन्दुसम्म पुगेको जानकारी दिए । उनका अनुसार एउटा तहमा शव भेटिए पनि थप मानिस फेला नपरेको प्रारम्भिक जानकारी आएको छ ।

यता माथिल्लो त्रिशुली जलविद्युत् केन्द्रका प्रमुख आभाष ओझाले सुरक्षाकर्मीबाट थप व्यक्ति फेला नपरेको जानकारी आए पनि आयोजनाका कर्मचारीसहित सम्भावित स्थानमा पुनः खोजी गर्ने तयारी रहेको बताए । त्यसपछि मात्र खोजीकार्य रोक्ने वा निरन्तरता दिने विषयमा निर्णय गरिने उनको भनाइ छ ।

बाढीपछि माथिल्लो त्रिशुली–१ मा ५५७ जना, माथिल्लो त्रिशुली–३ ‘बी’ मा १९१ जना र रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ । ती आयोजनामा समेत खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।