ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ भदौ
आगामी असोज २ गते फिल्म ‘कार्की साइँला’ प्रदर्शनमा आउँदै गर्दा अभिनेत्री प्रियना आचार्य भने बाढीपीडितको सहयोगमा जुटेकी छन्। रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोट तथा रसुवाका बाढीपीडितका लागि उनले व्यक्तिगत पहलमा राहत सामग्री पठाएकी हुन्।
बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित क्षेत्रका धेरै परिवारको गाँस, बास र कपाससमेत खोसिएको अवस्थामा प्रियनाले खाद्यान्नलगायत आवश्यक सामग्री जुटाएर ५ गाडी राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाएकी हुन्।
अभिनेत्री आचार्यले अहिले फिल्मको प्रचारप्रसारभन्दा पनि विपद्मा परेका मानिसलाई सहयोग गर्नु प्राथमिकता भएको बताएकी छन्। उनले भनिन्, “अहिले फिल्मको प्रचारप्रसारभन्दा पनि बाढीका कारण बिचल्लीमा परेका मानिसहरूलाई राहतको खाँचो छ। त्यसैले अहिले म पूर्ण रूपमा यसै अभियानमा सक्रिय भएर लागेकी छु।”
‘कार्की साइँला’ प्रदर्शनमा आउन दुई साता पनि बाँकी नरहेको अवस्थामा कलाकार तथा निर्माण टिम प्रचारप्रसारमा व्यस्त हुनुपर्ने भए पनि प्रियनाले त्यसलाई केही समय थाती राख्दै मानवीय सेवामा सक्रियता देखाएकी हुन्।
भारी बोकेर जीविकोपार्जन गर्ने एक श्रमिकको कथामा आधारित ‘कार्की साइँला’मा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन्। फिल्मको गीत ‘लग्यौ परान’ यसअघि नै सार्वजनिक भइसकेको छ। उक्त गीतलाई दर्शकले रुचाएका छन् भने गीतसँगै जितु नेपाल र प्रियनाको जोडीको पनि चर्चा भइरहेको छ।
फिल्ममा सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायत कलाकारको अभिनय रहेको छ।
डम्बर राईको कथामा आधारित फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन्। शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेका छन्। फिल्मका निर्माता बालकुमार राई र निर्भिक बञ्जारा हुन् भने अनन्त राई कार्यकारी निर्माता रहेका छन्।
डम्बर राई र नारायण गुरुङको छायाङ्कन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन तथा सन्दीप डाङ्गीले सह–सम्पादन गरेका छन्। ग्लोबल रिल मोशन पिक्चर्सले पोस्ट–प्रोडक्सनको काम गरेको फिल्मको डिजिटल पार्टनर मुभिज डिजिटेनमेन्ट रहेको छ। फिल्मको वितरण कुबेर फिल्मस्ले गर्दैछ। ‘कार्की साइँला’ असोज २ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।






