ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ भदौ
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार राति ८ बजेसम्म बाढी प्रभावित विभिन्न क्षेत्रबाट १ हजार २९० जनाको शव फेला परेको छ । बाढीमा अझै ४ हजार ७९८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । बाँकी ५३२ शवका आंशिक अंग मात्र फेला परेकाले लिंगसमेत खुल्न नसकेको प्रहरी विवरणमा उल्लेख छ । बाढीपछि शवहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमलगायतका जिल्लाबाट संकलन भइरहेका छन् ।
यसैबीच पहिचान खुल्न नसकेका शवको व्यवस्थापन पनि सुरु गरिएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका अनुसार बिहीबार थप २९ पहिचान नखुलेका शव गोकर्णेश्वर क्षेत्रको जंगलमा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । यसअघि सोही क्षेत्रमा ८५ शव व्यवस्थापन भइसकेका थिए । अस्पतालमा हालसम्म १७७ शव ल्याइएकामा १२९ शवको पोस्टमार्टम सम्पन्न भएको र २१ शव पहिचानपछि परिवारलाई बुझाइएको विभागले जनाएको छ ।
लामो समयपछि भेटिएका शव तथा आंशिक मानव अंगको पहिचान र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । शव व्यवस्थापनअघि आवश्यक डीएनए नमुना तथा अन्य प्रमाण सुरक्षित राख्ने प्रक्रिया अपनाइएको छ ।
बाढीपछि हराइरहेका व्यक्तिको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय तथा विशेषज्ञ टोली परिचालन भइरहेका छन् । विशेषगरी जलविद्युत् आयोजनाका सुरुङ तथा बाढीले पुरिएका क्षेत्रमा खोजी कार्य जारी छ । पछिल्लो विवरणले विपद्को झन्डै तीन सातापछि पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको देखाएको छ ।






