ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ भदौ
सातौँ हप्तामा प्रदर्शनरत चलचित्र ‘गौँथली’ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावितका लागि १४ लाख रुपैयाँ सहयोग गरेको छ। चलचित्रका निर्माता सुमन गिरी र निर्देशक कपिल रिजालले सञ्चारकर्मी प्रकाश सुवेदीको सहयोगमा आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री राहत कोषमार्फत उक्त रकम सहयोग गरेका हुन्।
चलचित्रका निर्माता सुमन गिरीले सामाजिक सञ्जालमार्फत ‘गौँथली’ परिवारका तर्फबाट बाढीपीडितका लागि १४ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएका छन्।
बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै चलचित्र परिवारले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरूको खोजी तथा सकुशल उद्धारका लागि प्रार्थना गरेको जनाएको छ।
चलचित्र ‘गौँथली’ परिवारले विपत्तिको समयमा पीडित नागरिकसँग उभिनु सबैको मानवीय दायित्व भएको महसुस गर्दै राहत कोषमा सहयोग गरेको जनाएको छ। सहयोग रकमलाई विपत्तिमा परेका नागरिकप्रतिको माया, सद्भाव र ऐक्यबद्धताको सानो प्रयासका रूपमा लिइएको छ।
‘हामीले दिएको यो सहयोगले पीडितको दुःखमा थोरै भए पनि राहत पुगोस् र संकटको यस घडीमा तपाईंहरू एक्लै हुनुहुन्न भन्ने अनुभूति दिलाउन सकोस् भन्ने हाम्रो चाहना हो,’ चलचित्र परिवारले जनाएको छ।
चलचित्र परिवारले आगामी दिनमा पनि आवश्यकताअनुसार पीडितको साथमा उभिँदै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यसैबीच, अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य भूमिका रहेको ‘गौँथली’ सातौँ हप्तामा पनि प्रदर्शन भइरहेको छ। चलचित्रले हालसम्म १५ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको निर्माण पक्षले जनाएको छ।
कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा सामाजिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ।






