ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ भदौ
भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का फिल्मको प्रचारप्रसारलाई थाती राखेर बाढीपहिरो प्रभावितको सहयोगमा जुटेकी छन्। गत बुधबार आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको अवस्था बुझ्न तथा राहत सामग्री लिएर उनी नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पुगेकी हुन्।
न्यान्सीले बाढीपहिरोबाट प्रभावित परिवारसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था बुझ्नुका साथै आफूले सकेको राहत सहयोगसमेत गरेकी छन्। उनले पिपलटारस्थित आयुर्वेदिक अस्पताल पुगेर बाढीपहिरोबाट प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूसँग भेटघाट गरेकी थिइन्। त्यहाँ उनले वडा अध्यक्षसँग भेट गरी प्रभावित क्षेत्रको अवस्था र तत्काल आवश्यक सहयोगबारे जानकारीसमेत लिइन्।
‘बाढी–पहिरोबाट प्रभावित परिवारहरूसम्म प्रत्यक्ष पुगेर उहाँहरूको अवस्था बुझ्ने र सकेको सहयोग गर्ने उद्देश्यले म नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पुगेँ,’ न्यान्सीले भनिन्।
राहत अभियानका क्रममा उनले सुरक्षाकर्मी तथा सम्बन्धित अधिकारीहरूलाई आवश्यकताअनुसार मास्क र ग्लोभ्ससमेत उपलब्ध गराएकी छन्। त्यसपछि उनले विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै युनाइटेड स्कुल, बट्टार, धोबिघाटलगायत स्थानमा पुगेर स्थानीयको अवस्था बुझेकी थिइन्।
यस अभियानमा लाइन्स क्लबका सदस्यहरूले समेत साथ दिएको न्यान्सीले बताइन्। सामूहिक प्रयासका कारण सहयोगलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको उनको भनाइ छ।

‘मैले गरेको यो सहयोग कुनै ठूलो कुरा होइन,’ उनले भनिन्, ‘यस्तो कठिन समयमा प्रभावित परिवारसम्म पुग्नु, उहाँहरूको कुरा सुन्नु र आफूले सकेको ठाउँबाट साथ दिनु नै मेरो उद्देश्य हो। यो एउटा सुरुवात मात्र हो—सकेसम्म निरन्तर सहयोग र साथ दिइरहनेछु।’
पूर्वमिस नेपाल इन्टरनेसनलसमेत रहेकी न्यान्सीको अभिनय रहेको ‘अक्षरा’ उनको दोस्रो फिल्म हो। फिल्मको प्रचारप्रसारको समयमै बाढीपहिरो प्रभावितको सहयोगका लागि नुवाकोट पुग्नु सामाजिक उत्तरदायित्वप्रतिको उनको प्रतिबद्धताका रूपमा हेरिएको छ।
विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा न्यान्सीसँगै सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारीलगायत कलाकारको अभिनय छ।
दिपेन बस्न्यातको छायांकन रहेको फिल्मलाई गौतम खड्काले सम्पादन गरेका हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मकी प्रस्तुतकर्ता सोनी थापा हुन् भने उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना निर्माता रहेका छन्।






