बाढी पीडितलाई आर्थिक सहयोग गर्दै चलचित्र युगको शुभारम्भ


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ भदौ

नयाँ नेपाली चलचित्र युगको काठमाडौँमा एक समारोहबिच पुजा गर्दै शुभसाइत सम्पन्न गरिएको छ । सोही क्रममा ‘युग’ को तर्फबाट रुपैयाँ १ लाख १ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरिएको छ ।

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै फिल्मको शुभसाइतसमेत सामान्य रूपमा सम्पन्न गरिएको यसका अभिनेता दिक्पाल कार्कीले बताएका छन् । चलचित्रमा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापा लगायतका कलाकारको अभिनय रहनेछ । यसै चलचित्रमार्फत फेसन कोरियोग्राफर हिमानी सुब्बाले नेपाली रजतपटमा अभिनय यात्रा सुरु गर्दैछिन्। त्यस्तै, मोडल तथा मिस्टर हेन्डसम नेपाल २०१९ का विजेता अभिषेक खड्काले पनि ‘युग’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्।

चलचित्र ‘युग’ को छायांकन अब केही दिनमै प्रारम्भ हुने अभिनेता दिक्पालले बताएका छन् । यो चलचित्रलाई निर्देशन कोमलनाथ खतिवडाले गर्दैछन् । सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण हुन लागेको चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक खतिवडाकै रहेको छ। चलचित्रलाई सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेले निर्माण गर्दैछन् ।