ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ भदौ
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित गरिएको छ। आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अब मंसिर २४ गतेदेखि प्रदर्शन गरिने भएको छ।
निर्माण कम्पनी आर्टिस्टिक इन्टरटेन्मेन्टले प्रेस विज्ञप्ति जारी गर्दै विपद्को वर्तमान अवस्थामा सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्षसहित प्रदर्शन मिति सारिएको जनाएको हो।
निर्माता वसन्त लम्सालले भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित क्षेत्रमा उद्धार र राहतको पर्खाइमा रहेका नागरिकको यथाशीघ्र उद्धारका लागि कामना गरिएको छ।
‘सिनेमा समाजको ऐना मात्र नभई मानवीय संवेदनाको संवाहक पनि हो’ भन्ने मान्यतासहित अहिले देशको एउटा भूगोल अकल्पनीय विपत्तिमा परेका बेला चलचित्र प्रदर्शन गर्न उपयुक्त नठानिएको निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षले नयाँ प्रदर्शन मिति आगामी मंसिर २४ गते बिहीबारका लागि तय गरिएको जानकारी दिएको छ। प्रदर्शन स्थगनका कारण दर्शक, प्रदर्शक, वितरक तथा सञ्चारकर्मीमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमासमेत मागेको छ।
यसैबीच ‘बा : एक योद्धा’ परिवारले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। विपद्को यस घडीमा देश–विदेशमा रहेका नेपालीलाई आ–आफ्नो तर्फबाट राहत तथा उद्धार कार्यमा सहयोग गर्न निर्माण पक्षले आग्रह गरेको छ।
चलचित्र ‘बा : एक योद्धा’मा दिब्यदेव, सुहाना थापा, झरना थापालगायत कलाकारको अभिनय रहेको छ।






