‘यानीमाया’को प्रदर्शन अधिकार विभिन्न ६ देशमा बिक्री


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ भदौ

अभिनेता पल शाहको लगानीमा निर्माण भइरहेको चलचित्र ‘यानीमाया’को प्रदर्शन अधिकार विभिन्न ६ देशमा बिक्री भएको छ। निर्माण पक्षका अनुसार चलचित्रको प्रदर्शन अधिकार हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, कतार र थाइल्यान्डका लागि बिक्री गरिएको हो।

अन्य देशमा समेत चलचित्र प्रदर्शनका लागि कुराकानी भइरहेको र सम्झौता छिट्टै टुंगिने निर्माण पक्षले जनाएको छ। चलचित्र ‘मोहर’पछि विदेशी बजारमा पल शाहको लोकप्रियता बढेको बताइएको छ। उनले अभिनय गरेको ‘आ बाट आमा’ले पनि अन्तर्राष्ट्रिय बजारमा सुखद व्यापार गरेको थियो।

हाल ४० दिने छायांकन तालिकासहित ‘यानीमाया’को छायांकन तीव्र गतिमा भइरहेको छ। ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्रमा पल शाहसँगै अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ।

शान्न अधिकारी र मोनिका भण्डारी बालकलाकारका रूपमा देखिनेछन्। चन्द्रज्योति आले र पल शाहको लगानीमा निर्माण हुन लागेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, कुमार महर्जनको एक्सन निर्देशन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन तथा भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।

यस्तै, विशाल कार्कीले निर्माण व्यवस्थापन, रेनिश फागोले कलर सम्पादन, राजु लामा र सञ्जु ढकालले मेकअप तथा हेयर र आशिष पौडेलले पोशाक डिजाइनको जिम्मेवारी सम्हाल्नेछन्।

सामाजिक प्रेमकथामा आधारित ‘यानीमाया’लाई आगामी फागुन ७ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। हाल गुन्डुमा छायांकन भइरहेको चलचित्रको बाँकी दृश्यका लागि निर्माण टोली त्यसपछि पर्वत जानेछ।