ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ भदौ
रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ। तीजको मौलिक संस्कृति र पछिल्लो समय बढ्दै गएको देखासिकी प्रवृत्तिलाई केन्द्रमा राखिएको गीतमा शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको छ। प्रशान्तकै संगीत तथा सुष्मा सिग्देलको शब्द रहेको गीत लोकलयमा आधारित छ।
गीतले तीजको मौलिक भावनाभन्दा पनि पहिरन, गहना तथा जीवनशैलीमा अरूको नक्कल गर्ने प्रवृत्ति बढ्दै गएको सामाजिक यथार्थलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ। आफूलाई मनपरेको पहिरन र गहना अरूले लगाएपछि ऋणधन गरेर भए पनि त्यस्तै बनाउने चाहना तथा त्यसका लागि श्रीमान्सँग माग राख्ने प्रसंगलाई गीतमा रमाइलो ढंगले प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारसँगै पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले नृत्य गरेका छन्। दिल श्रेष्ठ पनि भिडियोमा फिचर्ड छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दर्जनौँ कोरस कलाकार सहभागी छन्।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको अभिनय छ।
हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको चलचित्रको पटकथा ध्रुव लम्सालले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको फिल्ममा संगीत प्रशान्त शिवाकोटीको छ।
आठ वर्षपछि निर्देशनमा फर्किएकी रेखा थापाको यो चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्मको वितरण रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।






