गौँथलीको व्यापार नेपालमै २५ करोड नाघ्यो


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ भदौ

नेपाली चलचित्र ‘गौँथली’ले प्रदर्शनको ३७ दिनमा नेपालको बक्स अफिसमा २५ करोड रुपैयाँ भन्दा माथीको व्यापार गरेको छ । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार भदौ ७ गतेसम्म २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ ग्रस आम्दानी गरेको हो।

बोर्डको तथ्यांकअनुसार फिल्मका हालसम्म ९ लाख ९ हजार ४२६ वटा टिकट बिक्री भएका छन्। सर्वकालीन रूपमा दोस्रो सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘गौँथली’ले प्रदर्शनको पाँचौँ सातामा पनि उत्साहजनक व्यापार कायम राखेको छ। पछिल्लो सात दिनमा मात्र फिल्मले डेढ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको तथ्यांकले दर्शकको आकर्षण अझै कायमै रहेको देखाएको छ।

यसैबीच, चलचित्र विकास बोर्डले साउनमा प्रदर्शनमा आएका ‘हली’ र ‘लज्जावती’को बक्स अफिस विवरण पनि सार्वजनिक गरेको छ। साउन २२ गते रिलिज भएको ‘हली’ले भदौ ७ गतेसम्म २२ लाख ९३ हजार ९२० रुपैयाँ ग्रस कमाएको छ भने ८ हजार ३८५ टिकट बिक्री भएका छन्।

त्यस्तै, साउन २९ गते प्रदर्शनमा आएको ‘लज्जावती’ले ७ लाख ६८ हजार ४५० रुपैयाँ ग्रस कारोबार गरेको छ। फिल्मका २ हजार ६९६ वटा टिकट बिक्री भएको बोर्डको तथ्यांकमा उल्लेख छ।