बिक्यो ‘पार्वती’ अमेरिका र अष्ट्रेलियाका लागि


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ भदौ

अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन यात्रा सुरु हुने भएको छ। नेपालमा प्रदर्शन हुनुअघि नै चलचित्रको अमेरिका र अस्ट्रेलियाको प्रदर्शन अधिकार बिक्री भएको निर्माण पक्षले जनाएको छ। ‘पार्वती’ नेपालमा भने आगामी भदौ १२ गते शुक्रबारदेखि प्रदर्शनमा आउनेछ।

अस्ट्रेलियाका लागि चलचित्रको प्रदर्शन अधिकार नमस्ते इन्टरटेन्मेन्टले खरिद गरेको छ। उक्त कम्पनीले सेप्टेम्बर ४ अर्थात् भदौ १९ गतेदेखि अस्ट्रेलियाका विभिन्न सहरमा चलचित्र प्रदर्शन गर्ने तयारी गरेको छ। त्यसको एक सातापछि सेप्टेम्बर ११ देखि माया डिजिटल यूएसएले अमेरिकाका विभिन्न सिनेमा हलमा ‘पार्वती’ प्रदर्शन गर्नेछ।

निर्माता हरिहर अधिकारीका अनुसार आकर्षक रकममा दुवै देशका प्रदर्शन अधिकार बिक्री भएका हुन्। चलचित्रलाई विश्वभरका नेपाली दर्शकमाझ पुर्‍याउने उद्देश्यअनुसार अन्य मुलुकका लागि पनि प्रदर्शनसम्बन्धी प्रक्रिया अघि बढिरहेको उनले बताए। अमेरिका र अस्ट्रेलियामा चलचित्र प्रदर्शन हुने सहर तथा हलहरूको विस्तृत जानकारी क्रमशः सार्वजनिक गरिने निर्माण पक्षको भनाइ छ।

चलचित्रमा नीता ढुङ्गानासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दीप्तप्रकाश अधिकारीलगायतको अभिनय रहेको छ।

शिवम् अधिकारीको पटकथा रहेको चलचित्रको छायांकन सुदीप बरालले गरेका छन्। साहिल खानले सम्पादन तथा टिजर–ट्रेलर निर्माण गरेका छन् भने नृत्य निर्देशन रामजी लामिछानेको छ। नेपालमा चलचित्रको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्।