ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ भदौ
तिहारलाई लक्षित गर्दै प्रदर्शन तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’ले पोस्ट–प्रोडक्सनको कामलाई तीव्रता दिएको छ। चलचित्रको स्वरांकन बिहीबारदेखि सुरु गरिएको हो। म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एटमस साउन्ड स्टुडियोमा चलचित्रको सम्पूर्ण साउन्डसम्बन्धी काम सम्पन्न गर्ने निर्माण पक्षको तयारी छ।
गौशाला–पिंगलास्थानस्थित नेपाल संगीत विद्यालय परिसरमा रहेको स्टुडियोमा आयोजित स्वरांकन शुभारम्भ कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीको सहभागिता थियो। मुख्य कलाकार हरिवंश आचार्यले स्वरांकनको सुरुआत गरेका हुन्। निर्देशक वसन्त निरौलाले प्राविधिक पक्षमा कुनै सम्झौता नगरी दर्शकलाई उत्कृष्ट श्रव्य अनुभवसहितको चलचित्र दिने लक्ष्य रहेको बताए।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा छन्। दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सीता न्यौपानेलगायत कलाकारको पनि अभिनय रहेको छ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता तथा काली रानी श्रेष्ठ निर्माता रहेको चलचित्रको कथा, पटकथा र संवाद सुशील पौडेलले लेखेका छन्। सामाजिक कथावस्तुमा आधारित चलचित्रले महाभारतका पाँच पाण्डवका प्रतीक र चरित्रलाई समकालीन नेपाली समाजसँग जोडेर प्रस्तुत गर्ने बताइएको छ।
झापा र काठमाडौं उपत्यकामा छायांकन गरिएको चलचित्रको छायांकन श्याम तामाङले गरेका हुन्। ‘पाँच पाण्डव’ तिहारमा देशभर प्रदर्शन हुने र आरआर फिल्म्सले वितरण गर्नेछ।






