ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ भदौ
अभिनेत्री निरुता सिंह अभिनीत चलचित्र ‘सारथी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ। कुमार गजुरेलको निर्देशनमा बनेको यो चलचित्र आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभर प्रदर्शनमा आउनेछ।
सार्वजनिक फस्र्टलुकमा निरुता सिंहलाई उनका अघिल्ला चलचित्रभन्दा भिन्न र गम्भीर चरित्रमा प्रस्तुत गरिएको छ। काखमा दुधे बालकलाई समातेर गम्भीर भावमा देखिएकी उनको खुट्टाको पैतलाबाट रगत बगेको दृश्यले चलचित्रको कथावस्तुप्रति दर्शकमाझ उत्सुकता जगाउने अपेक्षा गरिएको छ।
किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको विकट तथा सुन्दर गुर्जा क्षेत्रमा गरिएको हो। चलचित्रमा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ताका रूपमा रहेकी छन्।
‘सारथी’मा निरुता सिंहसँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङलगायत कलाकारको अभिनय रहेको छ।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर छन्। चलचित्रको छायांकन संकल्प भुजेलले गरेका हुन् भने संगीत प्रशान्त शिवाकोटीको रहेको छ। प्रशान्त र रचना रिमालको स्वर रहेको चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ। प्रदर्शन मिति सार्वजनिक भएसँगै निर्माण टिमले अब चलचित्रको प्रचारप्रसारलाई थप तीव्र बनाउने तयारी गरेको जनाएको छ।






