ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ भदौ
गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डियर काव्या’ औपचारिक रूपमा घोषणा गरिएको छ। काठमाडौँको बिजेश्वरीस्थित होटल बज्रमा आयोजित समारोहमा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो। श्रद्धा प्रसाईंको निर्देशनमा बन्ने चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी र नवअभिनेता बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन्।
थिएटरका विद्यार्थी रहेका बिक्कीले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्दैछन्। सार्वजनिक पोस्टरमा उपासना र बिक्कीलाई रोमान्टिक भावभंगिमामा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज सहर र कर्णाली पुललाई समेटिएको छ।
‘डियर काव्या’ श्रद्धा प्रसाईंको दोस्रो निर्देशकीय चलचित्र हो। उनले निर्देशन गरेको पहिलो चलचित्र ‘ककाकिकी’ प्रदर्शनको तयारीमा रहेको छ। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन आगामी मंसिरबाट सुरु गरिनेछ।
चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगरलगायत कलाकारको पनि अभिनय रहनेछ। चलचित्रका निर्माता देवी सिंह र हेमकुमारी भेटुवाल हुन् भने दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माताका रूपमा रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर हुन्।

पोस्टर तथा पब्लिसिटी डिजाइनको जिम्मेवारी रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले सम्हाल्नेछन् भने मेकअप प्रिया कार्कीले गर्नेछिन्। चलचित्र पत्रकार गोपिकृष्ण चापागाईं मिडिया कोअर्डिनेटर रहेका छन्।
घोषणा समारोहमा निर्देशक प्रसाईंले आफूलाई विश्वास गरेर दोस्रो चलचित्र निर्देशनको जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गरिन्। ‘डियर काव्या’का लागि निर्माण टिमले भरपूर मेहनत गर्ने उनको भनाइ थियो।
कार्यकारी निर्माता दिया मास्केले निर्माताका रूपमा आफ्नो नयाँ यात्रा सुरु गर्न लागेको बताइन्। चलचित्र निर्माण आफ्नो लागि नयाँ अनुभव भएको उल्लेख गर्दै उनले फिल्मसम्बन्धी थप जानकारी क्रमशः सार्वजनिक गर्दै जाने जानकारी दिइन्।
डेब्यु अभिनेता बिक्की समशेर खड्काले पहिलो चलचित्रका लागि आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे। अभिनेत्री उपासना सिंह ठकुरीले पनि चलचित्रका लागि आफूलाई छनोट गरेकोमा खुसी व्यक्त गर्दै महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेकाले उत्साहित रहेको बताइन्।






