ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ भदौ
अभिनेत्री प्रियंका कार्कीको महत्वकांक्षी चलचित्र ‘मास्टर्नी’ भदौ ५ गते आज शुक्रबारबाट देशभरका चलचित्र घरमा प्रदर्शनमा आएको छ । चलचित्र मुलुकका एक सय भन्दा बढी चलचित्र घरमा रिलिज भएको निर्माण पक्षले जनाएको छ ।
यो चलचित्र आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको हो । चलचित्र मास्टर्नीले एकल रिलिजको अवसर पाएको छ । दुई दिन अघि आयोजना गरिएको प्रिमियरमा यो चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको थियो।
यो चलचित्रको मुख्य भावमा आमा र छोरीको भावनात्मक सम्बन्ध देखाइएको छ । एउटा छोरीको रक्षाका लागि आमाले के सम्म गर्न सक्छिन् भन्ने घटनाक्रमलाई कथामा तयार गरेर चलचित्र बनाईएको छ ।
मास्टर्नीमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दिपकराज गिरि, दिपाश्री निरौला लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ । क्राइम थ्रिलर÷फ्यामेली ड्रमा जनरामा निर्माण भएको चलचित्र चलिरहेको जनरा भन्दा फरक निर्माण भएको छ।
मास्टर्नी चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका छन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेको चलचित्रको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ। युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गरेको हो । यसलाई सुवेन्दु घोषले निर्देशन गरेका हुन् ।






