ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ भदौ
नेपाली चलचित्र ‘आशा’ को छायांकन सम्पन्न भएको छ । उडान स्टुडियोको प्रस्तुती रहेको यो चलचित्रको एक महिने सेड्युल थियो । छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले ब्युटी न्युज नेपाललाई बताईन् । उनको अनुसार फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो ।
यो चलचित्रमा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ । फिल्ममा कथा तथा निर्देशन राजिव गुरुङको रहेको छ ।
निर्माता शर्मिलाले चलचित्रको बारे भनिन्, ‘हामी योजना अनुसार नै छायांकन सम्पन्न गरेर पोस्ट प्रोडक्सनको काम जुट्दै छौँ । कलाकार र प्राविधिकहरूको मेहनत र कामको प्रतिफल नै हाम्रो योजना अनुरुप नै सबै काम सम्पन्न भएको छ । हामीले जे सोचेर छायांकनमा निस्किएका थियौँ, त्यो भन्दा राम्रो काम भएको आभाष भएको छ । नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ ।’
उनले फिल्मको इन्डक्ल्याप समारोहमा फिल्मका एक प्राविधिक अर्जुन घिमिरेलाई नगद राशि ५१ हजार रुपैयाँ सहयोग गरेकी छिन् । ‘आशा’ मा प्राविधिक टिममा रहेर स्पोटब्वाईका रुपमा काम गरिरहेका प्राविधिक अर्जुनको श्रीमती ‘ब्लड क्यान्सर’ बाट पिडित रहेको जानकारी पाएपछि पारिश्रमिक बाहेक उपचारका लागि उक्त रकम सहयोग गरेकी थिइन् ।
उक्त रकम ग्रहण गर्दै प्राविधिक घिमिरेले निर्माण टिमलाई धन्यवाद दिए । ‘यहाँ काम गरेकै पैसा समयमा पाइदैन, तर छायांकन सकिए लगत्तै मैले पाएको अतिरिक्त सहयोगका लागि आभारी छु । निर्मात्री थापालाई धन्यवाद’, उनले भने ।
‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानु पर्छ भन्ने लागेर नै फिल्ममा ल्याउँदैछौँ । एउटा मनछुने पारिवारिक कथामा फिल्म तयार गर्दैछौँ’, उनले भने ।
आगामी माघेसंक्रान्तिको अवसर पारेर माघ १ मा प्रदर्शन हुने फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ । फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् । यस्तै, फिल्ममा प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।






