सुमन गजमेरको निर्देशनमा ‘हाम्रो सानो घर’ बन्ने


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ भदौ

नेपाली चलचित्र निर्माणमा सक्रिय रे अफ आर्ट्स प्रालिले नयाँ चलचित्र ‘हाम्रो सानो घर’ निर्माण गर्ने भएको छ। यस चलचित्रमार्फत चर्चित लेखक सुमन गजमेरले निर्देशनमा डेब्यु गर्ने भएका छन्। चलचित्रको कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन्। ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’ र ‘शेर्वा’ लगायतका चलचित्रमा लेखकका रूपमा काम गरिसकेका गजमेरले अब निर्देशनमा पाइला चाल्न लागेका हुन्। चलचित्रका कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

‘हाम्रो सानो घर’मा जेनेरेसन–जेड पुस्ताको प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको मुख्य आधार बनाइने निर्माण पक्षले जनाएको छ। प्रेमकथामा आधारित चलचित्रले मनोरञ्जनसँगै जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई प्रस्तुत गर्नेछ।

रे अफ आर्ट्सले यसअघि निर्माण गरेको चलचित्र ‘परिवार’ पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ। कम्पनीले म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत सक्रियता जनाउँदै आएको छ।