ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ भदौ
भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।
अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतमा अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन र सन्तोष सापकोटाको शब्द रहेको छ। गीतले गाउँघरको उत्सव, रमाइलो तथा सामूहिक खुसीको माहोललाई प्रस्तुत गरेको छ।
गीतको भिडियोमा चलचित्रका कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे र खड्गबहादुर पुनमगरलगायतलाई देख्न सकिन्छ। गायक अर्जुन सापकोटासहित पवित्रा शाही ‘मिस पवि’, सजिना खनाल र निश्चल खड्काले पनि भिडियोमा नृत्य गरेका छन्। भिडियोको कोरियोग्राफी मिग्मा डी लेप्चाले गरेका हुन्।
जर्सिङ पौवामा छायांकन गरिएको गीतको भिडियो चलचित्रको कथाअनुसार गाउँमा आयोजना भइरहेको उत्सवको परिवेशमा तयार पारिएको हो। गीत सार्वजनिक भएपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ।
निर्देशक बिक्की अगरवालका अनुसार गीतले चलचित्रको ग्रामीण परिवेशसँगै उत्सवमय वातावरणलाई प्रतिनिधित्व गर्छ। गीतले चलचित्रप्रतिको दर्शकको उत्सुकता अझ बढाउने निर्माण पक्षको विश्वास छ।
‘ककाकिकी’मा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायतका कलाकारको अभिनय रहेको छ।
सुदिप बरालको छायांकन रहेको चलचित्रको पटकथा निर्देशक अगरवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रलाई सेभेन सिज इन्टरनेशनल फिल्मसले विश्वव्यापी रूपमा प्रदर्शनमा ल्याउँदैछ।






