ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ भदौ
निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बराल अनुबन्धित भएका छन्। यसअघि नै सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनजस्ता कलाकार जोडिइसकेको चलचित्रमा विजयको प्रवेशसँगै यसको कलाकार लाइनअप थप बलियो बनेको छ।
चलचित्रमा विजयलाई अनुबन्धित गरिएको जानकारी निर्देशक चौधरीले दिएका हुन्। उनले कथाको माग र दर्शकको रोजाइलाई ध्यानमा राखेर कलाकार छनोट भइरहेको बताए।
“सिनेमाको लाइनअपलाई बलियो बनाउने प्रयास जारी छ। यसैक्रममा हामीले विजय बराललाई लिएका छौँ,” निर्देशक चौधरीले भने, “हामी दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिइरहेका छौँ।”
डार्क हर्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीका अनुसार चलचित्र ‘एपिक एक्सन ड्रामा’ विधामा तयार हुनेछ।
सौरभले यसपटक आफ्नो अघिल्ला चलचित्रको तुलनामा अझ ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन्। निर्माण पक्षले ‘द राइज अफ साम्राज्य’लाई नेपाली चलचित्रकै ठूलो स्केलको एक्सन चलचित्रका रूपमा निर्माण गर्ने दाबी गरेको छ।
चलचित्रको छायांकन आगामी साताबाट सुरु हुने बताइएको छ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तय गरेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ।
चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। को–प्रोड्युसरमा विश्वास बस्नेत ‘बेन’ तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्।
मानकृष्ण महर्जनले डीओपीको जिम्मेवारी सम्हाल्ने चलचित्रमा एक्सन निर्देशन श्री श्रेष्ठको रहनेछ। ओएसआर डिजिटल डिजिटल पार्टनर तथा टौवा स्टुडियो पब्लिसिटी पार्टनरका रूपमा जोडिएका छन्। चलचित्रको वितरण डिसीएनले गर्नेछ।
‘द राइज अफ साम्राज्य’को कलाकार र निर्माण टिम क्रमशः सार्वजनिक हुँदै जाँदा चलचित्रप्रति दर्शकको चासो पनि बढ्दै गएको छ।






