ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ साउन
सुस्मिता केसी अभिनित चलचित्र ‘सुपर स्टार’को गीत गुराँसै फुल्दा बनै रमाईलो…नयाँ स्वादमा नयाँ चलचित्र ’मास्टर्नी’ मा समेटिएर अडियो भिडियो रुपमा दर्शकमाझ आएको छ । पुन संगीत, संगीत संयोजन, गायन र रेकर्ड सहित यो गीतलाई यति बेला मेलिना राईको स्वरमा ल्याईएको छ । यो गीतको पुरानो भर्सनमा साधना सरगमको स्वर रहेको थियो ।
यो गीतको अफिसियल भिडियो ओएसआर डिजिटलबाट आज सार्वजनिक गरिएको छ । यो गीतमा वसन्त सापकोटाको पुन संगीत रहेको छ । यस अघि यो गीतमा सचिन सिंहले संगीत गरेका थिए । शब्द भने दयाराम दाहालको हो ।
त्यति बेला यो गीतमा सुस्मिता केसीले नृत्य गरेकी थिइन भने अहिले यो गीतको भिडियोमा मास्टर्नीकी अभिनेत्री प्रियंका कार्की र अभिनेत्री वर्षा राउतको नृत्य रहेको छ ।

susmita kc
यो गीतको भिडियो निर्देशन र कोरियोग्राफी गम्भिर बिष्टले गरेका हुन् । जसमा पवन सुस्लिङ्गको छायांकन, सम्पादन र रंग संयोजन रहेको छ ।
चलचित्र मास्टर्नी क्राइम थ्रिलर÷ फ्यामेली ड्रमा जनरामा बनेको छ । यो चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दिपकराज गिरी, दिपाश्री निरौला, सन्दिप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको यो चलचित्र सुवेन्दु घोषको निर्देशनमा बनेको छ । चलचित्रलाई प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा तयार पारेका छन्। सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार चलचित्रको कार्यकारी निर्माता हुन् ।
चलचित्रको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा, सम्वादमा प्रियंकालाई शान बस्नेतले साथ दिएका छन् । युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको चलचित्र भदौ ५ गतेबाट प्रदर्शनमा आउंदैछ। चलचित्रमा रोहित शाक्यको सङ्गीत, त्रिशाला गुरुङको गायन रहेको छ । चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ ।



