ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ साउन
नेपालको पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’को विशेष प्रदर्शन हाउसफुल भएको छ। चलचित्र विकास बोर्डले पुराना नेपाली चलचित्रलाई पुनः ठूलो पर्दामा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरेको विशेष प्रदर्शन शृंखलाअन्तर्गत सोमबार ‘कुमारी’ प्रदर्शन गरिएको हो।
प्रदर्शनमा चलचित्रका कलाकार चैत्यदेवी सिंह, गौतम रत्न तुलाधर तथा छायाँकार मञ्जु कुमार श्रेष्ठको उपस्थिति रहेको थियो। दशकौँअघि निर्माण भएको आफ्नै चलचित्र दर्शकमाझ बसेर हेर्ने अवसर कलाकार तथा प्राविधिकका लागि स्मरणीय बन्यो। नयाँ पुस्ताका दर्शकका लागि भने नेपाली चलचित्रको रंगीन युगमा प्रवेशको महत्वपूर्ण इतिहासलाई पर्दामै हेर्ने अवसर मिल्यो।
प्रदर्शनपछि चलचित्रसँग जोडिएका कलाकार तथा प्राविधिकसँग अन्तर्क्रिया पनि गरिएको थियो। चलचित्र विकास बोर्डका सदस्य गणेशप्रसाद सुवेदीले सहजीकरण गरेको अन्तर्क्रियामा उनीहरूले ‘कुमारी’ निर्माण गर्दाका अनुभव तथा त्यस समयको नेपाली चलचित्र क्षेत्रको अवस्थाबारे आफ्ना स्मृति साझा गरे।
पुरानो पुस्ताका दर्शकका लागि ‘कुमारी’ विगतसँगको पुनर्मिलन बनेको थियो भने नयाँ पुस्ताका लागि नेपाली चलचित्रको इतिहास बुझ्ने अवसर बन्यो।
चलचित्र विकास बोर्डले पुराना नेपाली चलचित्रलाई पुनः प्रदर्शनमार्फत दर्शकमाझ ल्याउँदै अभिलेखमा सीमित चलचित्रलाई नयाँ पुस्तासम्म पुर्याउने अभियान अघि बढाएको जनाएको छ। ‘कुमारी’को हाउसफुल प्रदर्शनले नेपाली चलचित्रका पुराना सिर्जनाप्रति दर्शकको चासो अझै कायम रहेको देखाएको छ।



