जोगिन्दरको गाईजात्रे कोसेली ‘बालेन सरकार’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ साउन

लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले यस वर्षको गाईजात्राका लागि नयाँ हास्यव्यङ्ग्य कोसेली ‘बालेन सरकार’ सार्वजनिक गरेका छन्। समसामयिक विषय, राजनीतिक गतिविधि, नेता तथा नेपाली समाजका प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै रिजालले यो प्रस्तुति ल्याएका हुन्।

‘बालेन सरकार’मा उनले सरकारलाई सुझाव र सल्लाहमार्फत खबरदारी गर्नुका साथै गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयलाई समेत व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरेका छन्। नेपाली समाजको बानी–व्यवहार र राजनीतिक गतिविधिमाथि कटाक्ष गरिएको यो कोसेली ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

विगत २३ वर्षदेखि निरन्तर गाईजात्राका अवसरमा हास्यव्यङ्ग्य सामग्री प्रस्तुत गर्दै आएका रिजालले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक तथा राजनीतिक विषयमा सोच्न प्रेरित गर्ने उद्देश्यले ‘बालेन सरकार’ तयार पारेको बताएका छन्।

‘गाईजात्रा हास्य कलाकारका लागि महान् उत्सव हो। अहिले यस्ता कोसेलीको व्यावसायिकता छैन,’ रिजालले भने, ‘तर हरेक वर्ष दर्शक–श्रोता मेरो प्रस्तुतिको प्रतीक्षामा रहनुहुन्छ। उहाँहरूको मायाकै कारण आम्दानी नभए पनि यो यात्रालाई निरन्तरता दिँदै आएको छु।’

लेखन, निर्देशन र प्रस्तुति रिजालकै रहेको ‘बालेन सरकार’मा स्वर्गीय झलकमान गन्धर्वको चर्चित गीत ‘आमाले सोध्लिन् नि’को भावमा आधारित प्यारोडीसमेत समावेश गरिएको छ। प्यारोडीमा लोकप्रिय लोकदोहोरी गायक राजु परियारले स्वर दिएका छन्। लोकराज अधिकारीको शब्द तथा अष्ट लामाको संगीत संयोजन रहेको प्यारोडीमार्फत एमाले, कांग्रेस, माओवादी लगायत विभिन्न राजनीतिक दल तथा समसामयिक राजनीतिक विषयमाथि व्यङ्ग्य गरिएको छ।

प्रस्तुतिमा समन अधिकारीको कोरियोग्राफी, प्रेम शर्माको सम्पादन र हरि ढकालको छायांकन रहेको छ। यसको पोस्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो।

‘बालेन सरकार’ रिजालको २३औँ गाईजात्रे कोसेली हो। गत वर्ष उनले ‘मिस चौरासी’ प्रस्तुत गरेका थिए, जसले राम्रो चर्चा पाएको थियो। विसं २०६१ सालदेखि हरेक वर्ष गाईजात्राका अवसरमा निरन्तर हास्यव्यङ्ग्य प्रस्तुति ल्याउँदै आएका रिजाल गाईजात्रालाई हास्य कलाकारका लागि सिर्जनात्मक प्रस्तुति र सामाजिक व्यङ्ग्य गर्ने महत्वपूर्ण अवसरका रूपमा लिन्छन्।