ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ साउन
निर्देशक अशोक थापा मगरको आगामी चलचित्र ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीसहित अन्य कलाकारलाई प्रस्तुत गरिएको छ । भिडियोमा सोनम तोप्देन र उपासना सिंह ठकुरीको रोमान्स प्रस्तुत गरिएको छ । त्यसैले यो गीतले उनीहरुको प्रेम सम्बन्ध जनाएको छ ।
‘चाँदी जलप’मा एसडी योगी र अन्जु पन्तको स्वर रहेको छ । सुरेन्द्र रानाले लेखेको गीतमा एसडी योगीको संगीत तथा रिकेश गुरुङको संगीत निर्माण रहेको छ । गीतको भिडियोमा सोनम, उपासना, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिकालगायतका कलाकार फिचर्ड छन् ।
सुरेन्द्र राईको कोरियोग्राफीमा तयार पारिएको गीतको भिडियोमा चलचित्रका विभिन्न कलाकारको प्रस्तुति समेटिएको छ । शैलेन्द्र डी. कार्कीले छायांकन गरेको चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
‘जलाकी’मा सोनम र उपासनासँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायतको अभिनय छ । क्याप्टेन विजय लामा विशेष भूमिकामा छन् ।
चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्रमा डेब्यु गरेकी छन् । बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगरले अभिनय गरेका छन् ।
‘खुस्मा’को सफलतापछि निर्देशक अशोक थापा मगरले निर्देशन गरेको ‘जलाकी’मा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् ।



