ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ साउन
निर्देशक माओत्से गुरुङको नयाँ नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को टिजर सार्वजनिक गरिएको छ। आगामी हरितालिका तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजरले लाहुरे समुदायको जीवन, पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको कथाको झल्को दिएको छ।
सार्वजनिक टिजरमा एक व्यक्तिले आफ्ना दिवंगत बाबुको पेन्सन पट्टामा आफ्नी आमाको होइन, आफूले कहिल्यै नसुनेकी बाबुको पहिलो पत्नीको नाम रहेको थाहा पाएपछि सुरु हुने खोज र त्यसले सिर्जना गर्ने पारिवारिक तथा भावनात्मक द्वन्द्वलाई प्रस्तुत गरिएको छ। यही रहस्यको वरिपरि फिल्मको मुख्य कथा अघि बढ्ने संकेत टिजरले दिएको छ।
माओत्से गुरुङ स्वयंको कथा तथा निर्देशन रहेको फिल्म माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो। चलचित्रमा दयाहाङ राई, सुनील थापा, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, विल्सन विक्रम राईलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मले अवकाशप्राप्त लाहुरेहरूको जीवन, उनीहरूको पारिवारिक सम्बन्ध, सामाजिक मूल्य र बदलिँदो परिवेशबीचका भावनात्मक पाटालाई यथार्थपरक ढंगले पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
यसअघि नै चलचित्रको बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री भइसकेको छ। प्रचार सामग्री सार्वजनिक हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा फिल्मप्रति देखिएको चासोले निर्माण टिम उत्साहित बनेको छ।
टिजर सार्वजनिक भएसँगै ‘पेन्सन पट्टा’प्रति दर्शकको उत्सुकता अझ बढेको छ। चलचित्र आगामी भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।



