ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ साउन
नेपाली चलचित्र ‘हली’ शुक्रबारदेखि नेपालभर औपचारिक रूपमा प्रदर्शनमा आएको छ। नेपालसँगै माल्दिभ्सका सिनेमाघरहरूमा पनि एकैदिन रिलिज भएको फिल्मले पहिलो दिनदेखि नै दर्शकको उत्साहजनक साथ पाएको छ। बिहानैदेखि देशका अधिकांश हलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको निर्माण पक्षले जनाएको छ भने धेरै शो हाउसफुल भएका छन्।
छाउपडी प्रथाजस्तो संवेदनशील सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘हली’लाई अन्तर्राष्ट्रिय बजारमा पनि क्रमशः प्रदर्शन गर्ने तयारी गरिएको छ। यसअनुसार फिल्म अगस्ट ९ मा साइप्रस, सेप्टेम्बर २० मा बेलायत र अक्टोबर ११ मा हङकङमा प्रदर्शन हुनेछ।

ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्र जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको संयुक्त ब्यानरमा निर्माण गरिएको हो। फिल्मका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठ हुन् भने कार्यकारी निर्माता अर्जुन भुसाल रहेका छन्।
फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ। फिल्मको प्रचारात्मक गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य प्रस्तुत गरिएको छ।
राहुल राईको छायांकन रहेको फिल्ममा रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा ओम प्रतीक र कविराज गहतराजको कोरियोग्राफी रहेको छ। चलचित्रको वितरण नेशनल सिने ग्रुपले गरेको हो भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।



