युके प्रदर्शन अधिकार बिक्री, ‘हली’प्रति विदेशमा पनि उत्साह


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ साउन

नेपालमा औपचारिक प्रदर्शन हुनुअघि नै नेपाली चलचित्र ‘हली’ को युके प्रदर्शन अधिकार बिक्री भएको छ। आगामी साउन २२ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको यो चलचित्र बेलायतस्थित सपन इन्टरटेनमेन्ट लिमिटेड मार्फत युकेमा प्रदर्शन हुने भएको हो।

निर्माण पक्षका अनुसार आगामी सेप्टेम्बर २० मा अल्डरशटस्थित प्रिन्सेस हल मा चलचित्रको विशेष प्रदर्शन गरिनेछ। उक्त शोका लागि टिकट बिक्री सुरु भइसकेको र दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाइएको छ। बेलायतमा नेपाली चलचित्रप्रतिको आकर्षण बढ्दै गएको संकेतस्वरूप चलचित्रको प्रदर्शन अधिकार राम्रो मूल्यमा बिक्री भएको निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठले बताएका छन्।

यता नेपालमा पनि चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाइएको छ। निर्माण टोलीले झापा, मोरङ, सुनसरीदेखि दाङ, नेपालगञ्ज र धनगढीसम्म पुगेर प्रचार अभियान सञ्चालन गरेको छ। विभिन्न सहरमा अटो र ई–रिक्सामार्फत गरिएको प्रचारले चलचित्रप्रति दर्शकको चासो बढाएको निर्माण पक्षको दाबी छ।

निर्देशक ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको ‘हली’ले नेपाली समाजमा अझै विद्यमान छाउपडी प्रथालाई मुख्य विषयवस्तु बनाएको छ। पोस्टर, टिजर र गीत सार्वजनिक भएसँगै चलचित्रले सामाजिक सन्देश बोकेको कृतिका रूपमा चर्चा बटुलिरहेको छ।

चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ। विशेष प्रमोसनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको आकर्षक प्रस्तुति समावेश गरिएको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रमा राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ। संगीत शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको रहेको चलचित्रको नेपाल वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।