ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ साउन
भदौ १९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘तिनीहरू: इलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक गरिएको छ। जंगली हात्तीको आतंकले प्रभावित अल्पसंख्यक समुदायको जीवनकथामा आधारित चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय रहेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक ट्रेलरले हराएकी छोरीको खोजीमा संघर्षरत आमाको भावनात्मक यात्रा, जंगली हात्तीको त्रास र रहस्यमय घटनाक्रमलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। ट्रेलरमा छोरी अप्सराको खोजीका लागि प्रहरीसँग गुहार माग्दै भौतारिएकी आमाको छटपटी, आफन्तबाटै उठाइएका शंका तथा गाउँलेहरूले भोगिरहेको मानसिक त्रासलाई केन्द्रमा राखिएको छ। हात्तीको आतंकले प्रभावित बस्तीको परिवेश देखाइए पनि हात्तीलाई प्रत्यक्ष रूपमा नदेखाई रहस्यलाई थप प्रभावकारी बनाइएको छ। केही दृश्यले बलि प्रथाको संकेत गर्दै कथामा थप सस्पेन्स सिर्जना गरेका छन्।
भोजपुरी लयको प्रभाव रहेको गीत, शिवानी भगत र देव अहिररावको स्वर तथा लव कर्णको शब्दले ट्रेलरलाई अझ आकर्षक बनाएको छ।
निर्देशक अविनाश विक्रम शाहको निर्देशन रहेको यो चलचित्रले कान्स फिल्म फेस्टिभलमा ‘जुरी च्वाइस अवार्ड’ जितेर अन्तर्राष्ट्रिय रूपमा नेपाली सिनेमालाई नयाँ उचाइ दिलाएको थियो। नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण गरिएको हो।



