ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ साउन
असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कार्की साइला’ ले आफ्नो पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गर्दै प्रचार अभियानलाई औपचारिक रूपमा अघि बढाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको गीतमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियाना आचार्यको रोमान्टिक प्रस्तुति आकर्षक रूपमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा जितु र प्रियानाबीचको स्वाभाविक अभिनय तथा सशक्त केमेस्ट्रीलाई दर्शकले मन पराउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ। कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले पनि गीतको दृश्यांकन, संगीत र प्रस्तुतिको प्रशंसा गरेका थिए।
‘लग्यौ परान’मा श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको छ भने गीतका शब्द विष्णु नेपाल नेपालीले लेखेका हुन्। संकेत अगस्तीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको यो गीत फिल्मको मुख्य आकर्षणमध्ये एक हुने विश्वास निर्माण पक्षको छ।
राजेन्द्र बस्नेतको निर्देशन रहेको चलचित्र डम्बर राईको कथामा आधारित छ। पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा तयार पारेका हुन्। फिल्ममा जितु नेपाल र प्रियाना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायत कलाकारहरूको अभिनय रहेको छ।
बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अनन्त राई हुन्। डम्बर राई डिओपी तथा नारायण गुरुङ छायाँकार रहेको फिल्मको सम्पादन सन्देश शाहले गरेका छन् भने सह–सम्पादन सन्दीप डाँगीले सम्हालेका छन्।
चलचित्रमा मुख्य सहायक निर्देशक रोजल थापा तथा सहायक निर्देशक गीत बिष्ट र सजना थापा रहेका छन्। दिप्सन लिम्बु र संकेत अगस्तीको संगीत रहेको फिल्मका गीतमा दिप्सन लिम्बु, श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर सुन्न सकिनेछ। पोस्ट–प्रोडक्सनको जिम्मेवारी ग्लोबल रिल मोसन पिक्चर्सले सम्हाल्ने जनाएको छ।



