ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ साउन
कवि तथा गीतकार उमा श्रेष्ठको पहिलो कविता संग्रह ‘मौन छ देश’ तथा दुई नयाँ गीतका म्युजिक भिडियो एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। ब्राइड एकेडेमी एण्ड मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न कार्यक्रममा श्रेष्ठकी आमा दिलमाया श्रेष्ठको सभापतित्व तथा वरिष्ठ कवि एवं गीतकार चूडामणि देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो।
कविता संग्रहमाथि समीक्षा गर्दै डा. शैलेन्दुप्रकाश नेपालले ‘मौन छ देश’मा नारी संवेदना, देशप्रेम, सामाजिक यथार्थ र प्रेमका भावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको उल्लेख गरे। उनले उमा श्रेष्ठ कविता लेखनसँगै गीत, संगीत र गायनमा समेत समान रूपमा सक्रिय बहुप्रतिभाशाली स्रष्टा भएको बताए।
कार्यक्रममा बोल्दै उमा श्रेष्ठले साहित्य र संगीतप्रतिको आफ्नो यात्राका अनुभव सुनाउँदै आमाको उपस्थितिमा आफ्ना सिर्जना सार्वजनिक गर्न पाउँदा विशेष गर्व लागेको बताइन्। उनले परिवारको साथ र प्रेरणाले आगामी दिनमा पनि सिर्जनात्मक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, प्रमुख अतिथि चूडामणि देवकोटा तथा कार्यक्रम संयोजक अर्जुन थेवेले श्रेष्ठको साहित्यिक तथा सांगीतिक योगदानको प्रशंसा गर्दै सफल यात्राको शुभकामना व्यक्त गरे।
सो अवसरमा सार्वजनिक तीज गीत ‘नाचौं छमछमी’ मा उमा श्रेष्ठ र सुमित खड्काको स्वर रहेको छ भने शब्द तथा संगीत विपिन आचार्यको रहेको छ। अर्को गीत ‘ए माया लाउँछौ कि’ मा उमा श्रेष्ठकै शब्द, संगीत र स्वर रहेको छ, जसमा सुमित खड्काले पनि स्वर दिएका छन्। दुवै म्युजिक भिडियो उमा श्रेष्ठको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।



